0 COMMENTS

ddc-milkकाठमाडौं०४ फागुन २०७३/खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ। विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमुना परीक्षण गर्दा गुणस्तर न्यून पाएको थियो।

विभागले दूधको नमुना परीक्षणपछि माघ १९ गते डिडिसीविरुद्ध मुद्दा दायर गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडाैलाई पत्र लेखेको थियो। विभागको आग्रहअनुसार डिडिसीविरुद्ध दुई फरक मुद्दा दायर गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दुवै मुद्दामा डिडिसीका आयोजना प्रमुखलाई प्रतिवादी बनाएर प्रयोगशाला रिपोर्ट प्रमाणका रूपमा पेस गरिएको छ।

विभागले गत वैशाख २१ गते डिडिसीको दूधको एउटा नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो। दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत हुनुपर्नेमा २.८ प्रतिशत पाइएको रिपोर्टमा उल्लेख छ। रिपोर्टमा तोकिएको मापदण्ड पूरा नभएको भन्दै न्यूनस्तरको खाद्यपदार्थ उत्पादन गरेको जनाइएको छ। यस मुद्दामा विभागले डिडिसी बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकारलाई प्रतिवादी बनाएको छ।

त्यस्तै विभागले दर्ता गरेको अर्काे मुद्दामा तत्कालीन आयोजना प्रमुख ईश्वरीप्रसाद अधिकारीलाई प्रतिवादी बनाइएको छ। ०७१ जेठ २७ मा गरिएको उक्त परीक्षणमा चिल्लो पदार्थको मात्रा ५ प्रतिशत उल्लेख गरिएकोमा चिल्लो पदार्थको मात्रा ४.८ मात्र पाइएको विभागको परीक्षण रिपोर्टमा उल्लेख छ। विभागले त्यतिबेला ब्याच नं. ३२९ को पूर्ण क्रिम प्रशोधित दूधको नमुना परीक्षण गरेको थियो। उक्त परीक्षण रिपोर्टको कैफियतमा विभागले दूषित खाद्य पदार्थ उल्लेख गर्दै डिडिसीविरुद्ध मुद्दा दायर गरेको छ। दुवै मुद्दामा १० हजार रुपैयाँसम्म जरिबाना र दुई वर्षसम्म जेलसजाय वा दुवै गर्न सकिने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। कार्यालय स्रोतका अनुसार दुवै मुद्दामा प्रमुख जिल्ला अधिकारीले स्वविवेक प्रयोग गरेर आवश्यकताअनुसार कारबाही सिफारिस गर्नेछन्। ‘प्रयोगशाला परीक्षण रिपोर्टसहित मुद्दा दायर भएकाले गल्ती आरोप पुष्टि हुन्छ, तर सजाय सुनाउँदा प्रमुख जिल्ला अधिकारीले नियमअनुसार स्वविवेकको पनि प्रयोग गर्न सक्छन्,’ स्रोतले भन्यो।

डिडिसीका आयोजना प्रमुख ईश्वरराज न्यौपाने भने विगतका आयोजना प्रमुखका पालामा केही मानवीय त्रुटि भए पनि हाल अवस्था सुधार भइसकेको दाबी गर्छन्। ‘विगतमा केही मानवीय त्रुटि भएकै हुन् तर हाल हामीले गुणस्तरमा सुधार गरिसकेका छौं,’ न्यौपानेले भने। डिडिसीले नियतवस गुणस्तरमा सम्झौता नगरेकाले यसलाई ठूलो विषय बनाउन नहुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।