0 COMMENTS

काठमाडौं,३ फागुन०७३/ भारतले नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई ग्यास ढुवानी गर्न जारी गर्नुपर्ने अनुमति रोकेको छ । जसका कारण नेपालमा भित्रिसकेका नेपालकै बुलेट भारतमा ग्यास लिन जान पाएका छैनन् ।भारतले नेपाली उद्योगीले आफ्नै स्वामित्वमा रहने गरी भित्र्याएका बुलेटलाई बिष्फोटको खतराबाट मुक्त रहेको प्रमाणित नगरिदिँदा नेपाली बुलेट ग्यास लिन जान नपाएका नेपाल आयल निगमका ग्यास विभाग प्रमुख दीपक बरालले बताए ।

नेपाल आयल निगमले एकैपटक भारतीय ग्यास बुलेट विस्थापित गर्ने निर्णय गरेपछि त्यसैको प्रतिक्रिया स्वरुप भारतले नेपाली बुलेटलाई बिष्फोटको खतरामुक्त रहेको ‘एक्स्प्लोसिभ’ सर्टिफिकेशन नगरेको हो । यस्तो प्रमाणित नभएसम्म भारतीय आयल कर्पोरेशनले ग्यास बुलेट र ट्यांकरमा तेल तथा ग्यास भर्दैन ।भारतको पेट्रोलियम तथा एक्स्प्लोसिभ सेफ्टी अर्गनाइजेशनले यस्तो अनुमतिपत्र जारी नगरेसम्म नेपाली बुलेट भारतमा ग्यास लिन जानै पाउँदैनन् ।आयल निगमले झण्डै ३ महिनाअघि नै नेपाली नम्बर प्लेटको बुलेटलाई यस्तो अनुमति दिन आग्रह गर्दै पत्राचार गरेको थियो । तर, भारतकै बनेर आएका नेपाली बुलेटलाई अझै भारत सरकारले ‘एक्स्प्लासिभ’ प्रमाणित गरेको छैन ।

यसका कारण भारतीय बुलेट विस्थापनका लागि सरकारले गरेको घोषणा तत्काल कार्यान्वयन हुने स्थिति छैन । भारतीय बुलेटका ट्रान्सर्पोटरहरुले आफ्नो सरकारलाई नेपाली बुलेटलाई एकैपटक यस्तो अनुमति नदिन दबाव दिएको ग्यास उदोगीहरु बताउँछन् ।

आफ्नो ब्यवसाय एकैपटक चौपट हुने भन्दै भारतीय ट्रान्सर्पोटरहरुले आफ्नो बुलेट अन्तै प्रयोग गर्ने ब्यवस्था नभएसम्म नेपाली नम्बर प्लेटका बुलेटलाई पनि अनुमति नदिन दबाव दिएको सूचना आयल निगमलाई पनि छ ।

भारतबाट ग्यास बोक्न ७ सय ७५ वटा ग्यास बुलेट उद्योगीले भारतमै बनाउँदैछन् । मंसिर १७ गते नै वीरगन्ज नाकामा दुईवटा नेपाली ग्यास बुलेट आइपुगेका थिए । तर, भन्सार छुट प्रक्रियामा अन्यौल हुँदा जाँचपास गर्न ढिलाइ भएको थियो ।झण्डै ३५० वटा बुलेट भारतमा तयार भएर नेपाल भित्रिने तयारीमा छन् । तर, ती बुलेटले पनि भारत सरकारबाट खतरामुक्त भएको प्रमाणित गरेका छैनन् ।अन्य ४ सय २५ बुलेट भारतमा निर्माणाधीन छन् । च्यासिसमा बुलेटको लागि बुलेट जोडेर भित्राउन ग्यास उद्योगीहहरु लागेका छन् । तर, भारतले समयमै ‘एक्स्प्लोसिभ’ प्रमाणित नगरे बुलेट प्रयोग अनिश्चित हुनेछ ।

आयल निगमका अधिकारी भने बुलेटको फेब्रिकेशनकै समयमा सम्बन्धित कम्पनीसँग यस्तो प्रमाणित गर्ने जिम्मा उनीहरुकै हुने गरी ग्यास उद्योगीले सम्झौता नगर्दा समस्या आएको बताउँछन् ।

लगानी डुब्ने पीर

एउटा बुलेटलाई उद्योगीले करिब ७० लाख रुपैयाँ लगानी गरेका छन् । अहिलेसम्म नेपालमा भारतीय बुलेटहरुबाटै ग्यास आयात भइरहेको छ । नेपाली बुलेट भित्रिन सुरु भएपछि २०१७ को नोभेम्बरसम्म सबै आयातमा भारतीय बुलेटको प्रयोग हट्ने विश्वास गरिएको थियो ।ग्यास आपूर्तिमा भारतीय बुलेटको एकाधिकार समाप्त गर्न भन्दै ५४ उद्योगले ७ सय ७५ बुलेट खरिदका लागि झण्डै साढे ५ खर्ब खर्चिएका छन् ।भारतीय बुलेटको प्रयोग हटेपछि वर्षमा झण्डै ३ अर्ब रुपैयाँ बराबरको भाडा उद्योगले बचत गर्न हुने स्थिति छ । ४० वर्षदेखि भारतीय ट्रान्सपोर्टरका ५ सय बुलेटहरु ग्यास बोकिरहेका छन् ।आर्थिक वर्ष २०७३र०७४ को बजेट नै नेपाली बुलेट खरिदमा दुईतिहाइ भन्सार छुटको घोषणा भएको थियो । भारतीय नाकाबन्दीमा भारतीय बुलेटहरुमा निर्भर हुनुपर्दा आपूर्ति नराम्रोसँग प्रभावित भएको थियो ।त्यसपछि सरकारले उद्योगीलाई नेपाल बुलेट ल्याउन भन्सार छुटको ब्यवस्था गरेको थियो । नयाँ आएका बुलेटहरु ग्यास ढुवानीको अनुमति लिने प्रक्रियामा छन् । तर, सुरुवातमै भारत सरकारले प्रक्रियामा असहयोग गरेको छ ।

नेपाल भित्रिएका बुलेटहरु १८ मेट्रिक टन क्षमताका हुन् । अहिले भित्रिने बुलेटले अबको १० वर्षसम्म मागअनुसार आपूर्ति गर्न सक्ने ग्यास उद्योग संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।