संसारमा मानव सभ्यताको विकास कहाँ भयो भन्ने कुराको अध्यन गर्दा सबैले आ–आफनै तर्कहरु प्रस्तुत गरेता पनि वास्तवमा वैदिककाल नैं मानव सभ्यताको उद्गम हिमवतखण्ड नेपाल र भारतखण्ड नैं हो । मानव सभ्यताको विकासमा समाजलाई आवश्यक पर्ने संहिता, सहिष्णुता र अस्मिता नैं सामाजिक जीवनको स्रोत थियो । जसरी सभ्य जीवन पद्धतिको उजागर गर्नमा वैदिक युग नैं विश्व सभ्यताको प्रेरक बन्न पुग्यो । पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाईनैं ‘हिमवत्खण्ड’ भनिन्छ भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । संसारमा हिन्दुअस्मिता बोकेका राष्ट्रहरुमा ‘हिमवतखण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन् । यी दुबै राष्ट्रबाट विश्वभर हिन्दु दर्शन,संस्कृति र सभ्यताको विस्तार भएको हो । प्राचीन समयदेखि हिमवतखण्ड नेपाल तथा भारतको सभ्यतालाई संसारका देशहरुले ठूलो महत्व राख्दै आएका छन् । इतिहासविद् योगी नरहरिनाथले उल्लेखगर्नु भएकोछ– ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो ।
सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यही जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराइमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उदेश्य हो ।’ यही हिसावले नेपाल–भारत हिन्दुहरुको लागि पवित्र पूण्यभूमि मानिन्छ । विदेशी अधिक्रमणको कारणले भारतमा हिन्दुअस्मिता नष्ट गराउने काम भयो । भारतमा अंग्रेजहरूबाट हिन्दुअस्मिता माथि आक्रमण बढ्दो अवस्थामा पुगेपछि नेपाल पनि अछुतो हुने स्थिति थिएन । तर गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना टुक्राहरुमा विभाजीत हिमवतखण्डका राज्यहरुको एकीकरण गरेर समयमैं विश्वभरमा हिन्दुहरुको सार्वभौम अस्तित्व र प्रतिष्ठा जोगाएर राख्ने काम गरे । यसैले यो भूमि कहिले पनि बिटुलो भएन ।
वैदिक सनातन हिन्दु दर्शन हिमवत्खण्ड नेपालको उपज हो । यही हिन्दुस्थलमा २५६० बर्ष अगाडि हिन्दु राजा शुद्धोधन र रानी मायाँदेबीबाट सिद्धार्थ गौतमको जन्म बैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म भएको थियो । गौतम बुद्धको जन्मथलो लुम्बिनी नेपालको मध्य दक्षिणको तराईमा पर्छ । उनी जन्मेको सातौं दिनमा आमा मायाँदेबीको मृत्यू भएपछि कान्छी आमा प्रजापती गौतमीले उनको लालनपालन गरेकी थिइन् । सोह्रबर्षको उमेरमा गौतमको बिवाह सुप्रबुद्धकी छोरी यशोधरासँग भयो र ३५ बर्षको उमेरमा उनको छोरा राहुलको जन्म भयो । बैशाख पूर्णिमा गौतम बुद्धको जन्म हुनु, बैशाख पूर्णिमाका दिन मैं गौतम बुद्धले बोधिसत्व प्राप्त गर्नुु र त्यही बैशाख पूर्णिमाको दिनमा ८० बर्षको उमेरमा, भिक्षु आनन्द तथा अन्य भक्तजनहरुसँग वार्तालाभ गर्दागर्दै, कुशीनगरमा बुद्धको स्वर्गारोहण हुनुले ‘बैशाख पूर्णिमा’ गौतम बुद्धको लागि एक असाधारण दैवीक तीथिको रुपमा देखिन्छ ।
सिद्धार्थ गौतमले २९ बर्षको उमेरमा बैराग्य भएर श्रीमती, छोरा, परिबार, दरबार, राजपाठ छोडेर ज्ञानको खोजीमा लाग्नु भयो । धेरैदिनको ज्ञानको खोजीपछि गौतम बुद्धले बोधिबृक्षमा तपस्या गरेर उनले बुद्धत्व प्राप्त गरे । सम्पूर्ण खराबीबाट मुक्त रहनु, मनलाई स्वस्त राख्नु, जे राम्रो लाग्छ त्यो गर्नु भन्ने विचारमा आधारित भएर सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् बचन, सम्यक् कर्म, सम्यक् जीव, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक समाधि आदि उपदेशहरु गौतम बुद्धमा सिद्धि वाँणिहरु हुन् । उपदेशहरुलाई ठीकसँग प्रयोग गर्न अभिप्रेरित गराउन गौतम बुद्धले आफ्ना भक्त बौद्ध भिक्षुहरुलाई संसारमा धर्म प्रचार गर्न धर्मदूत रुपमा पठाउने चलन चलाए । बुद्धले बताएका उपदेशहरुलाई लिखितरुपमा उतारिएको थिएन । बुद्धको शेषपछि उनका अनुयाईहरुले बौद्ध सम्मेलन गरेर त्यसपछि बौद्ध उपदेशको संग्रह गरे । बुद्धका उपदेशहरु ‘धम्मपद’ मा संग्रहीत छन् । धम्मपद बुद्धका उपदेशका प्रसिद्ध संग्रह मानिन्छ । सम्यक् व्यायाम अन्तगत विपश्यना ध्यान गौतम बुद्धद्वारा देशित चित्त विशोधन विधि हो । यसलाई बुद्ध योग भने पनि हुन्छ ।
हिन्दुहरुका प्रवर्धनमा वैदिक ग्रन्थ, उपनिषद, मनुस्मृति लगायत गोरखनाथ मार्गदर्शक हुन् । आध्यात्मिक साधनाको क्षेत्रमा गुरु गोरखनाथको योगदान अद्वितीय छ । गुरु गोरखनाथको दर्शनले एकातिर वैदिक दर्शन÷संस्कृति र बौद्ध दर्शन ÷संस्कृतिलाई नजिक्याएको छ भने अर्कोतिर तन्त्र र मन्त्रको सुन्दर सामन्जस्य गरी हाम्रो पूर्वीय दर्शनलाई धनी बनाएको छ । यसैगरी एकातिर उच्च षडङ्ग योगदर्शनको शिक्षा दिएको छ । हिन्दु तथा बौद्धभित्र मूर्ति पूजा गर्ने, मूर्ति पूजा नगर्ने, जनै लगाउने, जनै नलगाउने, टुप्पी पाल्ने टुप्पी नराख्ने, मान्साहारी, शाकाहारी, अीसतक, नास्तिक, बैरागी, सन्यासी यी सबै एकसाथ सह-अस्तित्वको हिन्दुत्व र बुद्धत्व माथि विश्वास गर्छन् । ‘‘ॐकारको साधना” नै प्रमुख साधना हो । ॐकारको साधना ‘‘सो द्र हं”का माध्यमबाट श्वास प्रश्वासमा समाहित हुन्छ तब यही आत्मामा नै परमात्माको दर्शन हुन्छ । हिन्दु समाजभित्र छुवाछुत जातभात, लिङ्गभेद हिन्दुधर्मभित्रको उपज नभएर धेरै पछि समाजभित्रैको बिकृतिको उपज हो ।
१) युद्धबन्दी, २) राज्यले जात झारेका र ३) हाडनाता करणीको मामिलाबाट समाज बहिस्कार हुनपुगेकाहरुबाट उब्जेका समस्याहरुको कारणले छुवाछुत प्रथाले संस्कारको रुप लिनपुगेको हुनाले हिन्दु समाजभित्र सामाजिक असमानताका कुराहरु उठेका छन् । यसबाट समाजलाई उन्मुक्त गराउन राज्यबाटै सशक्त कार्यक्रमहरु अभियानको रुपमा चलाउन सक्नुपर्दछ । युद्धबन्दी र राज्यले जात झारेका अछुत भनिएकाहरुलाई राज्यले छुवाछुत मुक्त गाराउनु पर्दछ र हाडनाता करणीको मामिलाबाट समाज बहिस्कृत भएकाहरुलाई त्यस्तो संवन्ध तोडाएर राज्यले पत्या अर्थात गोदान गराएर समाजले स्वीकार्ने व्यवस्था हुनुपर्छ ।
अहिलेको संसारमा इसाई साम्राज्य स्थापना गराएर हिन्दु तथा बौद्धको अस्त्त्वि समाप्त गर्न खोजेको छ । इसाईहरुले आफ्नो धर्म महान हो भनेर भ्रम सिर्जना गरेका भरमा कसैले पत्याउने कुरा आउँदैन । हामीले बुझेसम्म वैदिक हिन्दु सनातन धर्म सभ्यताको उद्गम हो । हिन्दु धर्म भन्दा धेरै पछि जन्मिएका धर्महरु– मुस्लिम, क्रिस्चियन हुन् । नेपालका हिन्दु र बौद्धहरु अत्यन्त उदार छन् । उनीहरु चाहे क्रिस्चियन होस् वा मुस्लिम् आदर गर्छन् । नेपालमा मुसलमानहरुप्रति हिन्दु र बौद्धको कुनै चित्त दुःखाई छैन । किनकि मुसलमानहरु आफ्नो धर्म मान्छन् र हिन्दु तथा बौद्धप्रति सम्मान गर्छन्, आक्रमक हुँदैनन् । त्यसैले हामी मुसलमानप्रति आक्रोशित छैनौं । तर क्रिस्चियनहरुप्रति नेपालमा हिन्दुहरु सशंकित र आक्रोशित छन् । क्रिस्चियनहरु नेपालको पहिचानलाई ध्वस्त बनाउन चहान्छन् । विक्रम संवत् १८०० भन्दा अगाडि नेपालका मल्ल राजाहरुलाई प्रभाव पारेर केही नेपालीलाई क्रिस्चियन बनाउन थालेका र पृथ्वीनारायण शाहको एकीकरण अभियान असफल बनाउन जयप्रकाश मल्लको सहयोगमा क्रिस्चियन पादरीले इष्ट इण्डिया कंपनीमा सहयोग मागेको र २३ अंग्रेज पलटन केप्टन किलकको नेतृत्वमा सिंधुलीगडीबाट आक्रमण्म गर्न आएका र पृथ्वीनारायण शाहका फौजहरुबाट लखेटिएका थिए । त्यसले पनि पृथ्वीनारायण शाह इसाई पादरीसँग अत्यन्त सशंकित थिए । त्यसो भएकाले विक्रम संवत् १८२५पछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीहरुलाई यहाँबाट लखेटेका थिए । त्यसले गर्दा पनि क्रिस्चियनहरु हिन्दु र नेपालप्रति नकारात्मक बनेका हुन् ।
नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । ५४ भन्दा बढी स–साना राजाहरु भएको हिन्दु राज्य एकीकृत भएर बनेको विशाल नेपाल ‘हिन्दु अधिराज्य’ हो । धर्म, संस्कृति, अनेकौं चाड–पर्वहरु यसक्षेत्रका पहिचान हुन् । हिन्दु धर्म भन्दा धेरै पछि जन्मिएका मुस्लिम, क्रिस्चियन् राज्यहरु धर्म सापेक्ष छन् भने अहिलेको प्रश्न छ कि नेपालले चाहीं धर्म निरपेक्ष हुनुपर्ने ? यो कस्तो न्याय हो ? प्राचीनता सभ्यताको कुरा उठाउँदा विश्वका सभ्यताहरुमा यही भूभागलाई नैं सभ्यताको उद्गम् मानिन्छ । कैलास–मानसरोवरदेखि गंगासम्मको हिमवतखण्डको यो भूभाग एक सम्वृद्ध सभ्यताको मूल हो । अनादिकालदेखिनै श्रृषिमुनीहरुको अथक चिन्तन र प्रयत्नबाट वेद, उपनिषद, पुराण, रामायण,अनेकौं धर्मशास्त्र, राज्यका विधिविधान र सिद्धान्तहरु कैलास–मानसरोवरदेखि गगासम्मकै भूभागमा सिर्जिएका हुन् । यसक्षेत्रबाट सभ्यताको विकास र विस्तार गर्नमा ऋषिमुनीहरुको महान देन छ । सप्त ऋषिहरु ब्राम्हण र क्षेत्रीहरु भएता पनि किरातीहरुका ऋषि ‘आकुुनी’को नाम पनि वेदमा पाइन्छ । तिनै ऋषिहरुको नामबाट विभिन्न जातिहरुको गोत्र चलेकोछ । किरातीहरुको गोत्र काश्यप,कासी, भारद्वाज आदि हो । जुन ऋषिका सन्तान थिएन उनको गोत्र पनि चलेन । हिमवतखण्ड नेपालमा कुनै पनि ऋषिमुनीहरु– कस्यप,भारद्वाज,विश्वामित्र,कौसिक),वशिष्ट,अत्री,गौतम,जमदग्नी,सप्तऋषिहरु,‘नेमुनीे’,परशुराम,उपमन्य,मौतगल्य,शाण्डिल्य,मरिची,अंंगिरा,गार्गी,यज्ञवल्क्य,मैत्रेयी,ब्यास पुलह,भृगु,माण्डव, जस्ता यस्ता सैयौं ऋषिहरुको तपोभूमि, कर्मभूमि हो– यो हिमवतखण्ड नेपाल । वेद् उपनिषद्, पुराणहरु यही क्षेत्रकै उपज हुन् । बाल्मिकि ऋषिले चितौनको बाल्मिकि आश्रममा बसेर रामायण लेखेका थिए ।
जनक राजाले मिथिला क्षेत्रमा हजारौंबर्ष अगाडि सभ्यताकाे विकास गरे । मैत्रेयी र यज्ञवल्क्य जस्ता महान ऋषिहरुले वेदका ऋचा लेखेका थिए । तेइससय बर्ष अगाडि अशोकले यसक्षेत्रका सभ्य र सुसंकृत क्षेत्रीबंशका देवपालसँग आफ्नी छोरीे चारुमतीलाई बिवाह गराएका थिए । वशिष्ट ऋषि रामका गुरु थिए । उनको वासस्थान देवघाट– वशिष्ट गुफामा थियो । अहिले पनि हामीहरु वशिष्ट गुफा देख्न सक्छौं । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको विषयलाई लिएर– “भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि” भनेको कुरालाई ह्रृदयाङ्गम गर्दा यो क्षेत्र कति महान छ भन्ने कुरा बुझिन्छ ।
कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा “हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्मनैं यो आर्यभूमि हो” भनेर पुष्टि गरेकाछन् । ‘कृर्वन्तो विश्वमार्यम्’ विश्वलाई नैं सभ्य बनाऔं, भन्ने ऋषि महर्षीहरुको उद्घोस थियो जहाँ विश्वका कैयौं देशहरुमा ऋषिहरु र वेत्ताहरुबाट वैदिक ज्ञान ब्यापक बनाउन खोजिएको र यही भूखण्डबाट विश्ब्यापीरुपमा सभ्यताको विकास भएको थियो । यसरी नैं विशाल नेपालको सिर्जना भएपछि पृथ्वीनारायणशाहका पालादेखि अहिलेसम्मका नेपालमा हिन्दु र बौद्ध बीचमा मतभेद रहेन । मुस्लिम, क्रिश्चियन धर्मवलंवीहरुसँग पनि नेपालको प्रतिशोध थिएन । त्यसैले अव नेपालको स्थायित्व, एकता र प्रतिष्ठाको लागि नेपालको सार्वभौमसत्ताको मेरुदण्डको रुपमा स्थापित राजसंस्था र विश्वको एक मात्र हिन्दु अधिराज्यका मान्यताहरु जोगाएर अखण्ड नेपालको प्रतिष्ठा बचाउन सबै राजनीतिक दलहरु त्था हामी नेपालीहरु एक हनसक्नु पर्छ ।