फाल्गुन १, २०७३- सिएमजी क्लब संकटा शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै रुस्लान आठौं सिमरा गोल्डकप च्याम्पियन भएको छ ।
सिमरा खेल मैदानमा शनिबार गोलरक्षक विनय श्रेष्ठले दुई पेनाल्टी रोकेपछि संकटाले आर्मीलाई टाइब्रेकरमा ४–२ ले पन्छाउँदै ५ लाख ५१ हजार नगद पुरस्कार जितेको थियो । उपविजेता आर्मीले २ लाख ५० हजारमा चित्त बुझायो । रोचक बनेको फाइनल खेल निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको थियो ।
अतिरिक्त समय (२० मिनेट थप) मा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा संकटाबाट राज पौडेल, अनिल गुरुङ, अमित तामाङ, कुलदीप कार्कीले गोल गरे । विश्व अधिकारी गोल गर्न चुके । उनको पेनाल्टी प्रहार आर्मीका गोलरक्षक सुनील श्रीवास्तवले रोकेका थिए ।
आर्मीको तर्फबाट सन्तोष तामाङ र हिरण्य मगरमात्र गोल सफल भए । जितेन्द्र कार्की र दीपक गुरुङको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरे ।
आर्मीका बालकृष्ण श्रेष्ठले ४७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पेनाल्टी बक्सभित्रबाट उनले हानेको प्रहार बारमा लाग्दै पोस्टभित्र छिरेको थियो । सुरुदेखि नै दुवैले आक्रामक खेलेको थियो । दुवैले गोल अवसर खेर फाले । संकटाले ५६ औं मिनेटमा अमित तामाङको गोलबाट खेल बराबरीमा गरेको थियो । आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाईलाई लडाएपछि संकटाले फ्रिकिक पायो । त्यसैमा अमितले उत्कृष्ट गोल गरेका हुन् । गोलसँगै खेलमा फर्किएको संकटाले आर्मीलाई कडा चुनौती दिएको थियो ।
म्यान अफ द म्याच संकटाका अमित तामाङ भए । उनले ५ हजार पाए । सर्वोत्कृट खेलाडी संकटाका गोलरक्षक विनय श्रेष्ठ भए । उनले यामाहा मोटरसाइकल पाए । उत्कृष्ट गोलरक्षकसमेत उनै भएपछि १५ हजार थप नगद पुरस्कार प्राप्त गरे । उत्कृष्ट डिफेन्सतर्फ आर्मीका विमल पाण्डे, उत्कृष्ट मिडफिल्डर आर्मीकै सन्तोष तामाङ, उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ भए । उनीहरूले १५–१५ हजार पाए ।
सर्वाधिक गोलकर्ता आर्मीका बालकृष्ण श्रेष्ठ र उत्कृट प्रशिक्षक संकटाका सल्यान खड्गी भए । दुवैले जनही १५ हजार पाए । फेयर प्लेको पुरस्कार एपीएफ क्लब पायो । नव जनजागृति युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ र मोफसलका चारसहित १० टिम सहभागी थिए ।