0 COMMENTS

बैतडी, १ फागुन – ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा सङ्घर्ष समिति होइन सहयोग समिति बनाएर अघि बढ्न स्थानीय जनतालाई अनुरोध गरेका छन् । पश्चिम सेती जलविद्युत आयोजनास्थल बैतडीको ढुंगाढमा आयोजित जनसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

अबदेखि हरेक जलविद्युत आयोजनाहरूको मालिक स्थानीयलाई बनाउने नीति सरकारले लिएकाले आन्दोलनको सट्टा सहयोग अभियान चलाउन उनले आग्रह गरे । “ऊर्जा मन्त्रालयले नेपालको पानी, जनताको लगानी कार्यक्रम ल्याएको छ, स्थानीय जनतालाई शेयर लगानीमा पहिलो प्राथमिकता दिइन्छ”, उनले भने, “त्यसैले अब जलविद्युत् आयोजनाहरुमा तपाईँहरूले सङ्घर्षको सट्टा सहयोगको अभियान चलाउनु पर्छ।”

मन्त्री शर्माले जलाशययुक्त आयोजनास्थलबाट विस्थापित जनताका लागि सुविधासम्पन्न आवास योजना सरकारले ल्याउने भएकाले मन नदुखाउन पनि आग्रह गरे। उनले डोटी, बैतडी र डडेलधुराको सिमानामा बन्न लागेको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना सम्पन्न भए सिङ्गो सुदुरपश्चिमका जनता सम्पन्न हुने धारणा राखे । यस आयोजनाको काम अब चाँडै सुरु गरिने उनले बताए।

मन्त्री शर्माले अब देशभर लोडसेडिङ हटाउने तयारी भइरहेको बताउँदै तीन वर्षभित्र देशभर बिद्युतीकरणको आधारभूत काम सम्पन्न गर्ने गरी मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए। उनले ऊर्जा मन्त्रालयको कामले देशभर युवाहरुमा छाएको निराशा हटाउन सहयोग पुगेको भन्दै यसलाई पूँजीकृत गरेर देशलाई समृद्ध बनाउने अभियान सुरु गर्न आव्हान समेत गरे।

मन्त्री शर्माले शनिवारै दार्चुलास्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको पनि स्थलगत अनुगमन गरे। सो क्रममा उनले संशोधित तालिका अनुसार सन २०१७ भित्र निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए।

ठेकेदारको लापरवाही तथा निर्माण भइसकेको सुरुङ खुम्चिनु लगायतका कारणले उक्त आयोजनाको काम १९ महिना ठप्प भएको थियो । प्रतिकुल भौगोलिक अवस्थितिका कारण आठ सय ४३ मिटर सुरुङ खुम्चिएको थियो। खुम्चिएको मध्ये अब २५ मिटर मात्र खुलाउन बाँकी छ। आज प्रकाशित कारोबार दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।