काठमाडौं२८ माघ २०७३ /अाज माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समाप्त हुने पूर्णिमा। नेपाली सनातन समाजमा हरेक वर्ष पौषशुक्ल पूर्णिमामा शुरु गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा रहेको छ। माघ शुक्ल पूर्णिमालाई धार्मिक कार्यका लागि विशेष दिन मानिएको छ। यो दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानी देवीको विशेष आराधना गरिन्छ।
देवाधिदेव महादेवसहित स्वस्थानीको विधिपूर्वक व्रत एवं पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूर्ण हुने विश्वास गरिन्छ। यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १ सय ५३ श्लोकको स्वस्थानी व्रतमाहत्म्य पनि पाठ गरिन्छ। समापनको पूजामा स्वास्थानी देवीलाई १०८ को संख्यामा पूजा सामग्री चढाउने गरिन्छ। अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, रोटी, मौसम अनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ। यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल पति वा छोरालाई दिई सय रोटी व्रतालुले खानुपर्ने श्रीस्वस्थानी व्रतकथामा बताइएको छ। काठमाडौंको उत्तरपूर्व साँखुस्थित शालीनदी र भक्तपुरस्थित हनुमानघाटमा लागेको माधवनारायण मेला पनि शुक्रवार नै सम्पन्न हुँदैछ। माघस्नान र स्थानीय तीर्थस्थमा लागेका मेला पनि यो पूर्णिमाबाट सम्पन्न हुन्छ।