0 COMMENTS

काठमाण्डाै२७ माघ २०७३ /युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलेको छ।

बंगलादेशी, भारतीय र केही नेपाली दलालले नेपालमा आकर्षक काम पाइने प्रलोभन देखाई बंगलादेशीलाई नेपाल ल्याउने गरेका खबर आजको अन्नपूर्णमा छ ।मानव तस्करले नेपालमा आकर्षक काम र तलब पाउने भन्दै बंगलादेशीलाई नेपाल भित्र्याउने गरेका हुन्। नेपालमा कामदार नपाएपछि विभिन्न कम्पनीले बंगलादेशीलाई काममा लगाउन थालेका छन्।

तस्करको मिलेमतोमा सस्तो कामदारका रूपमा सुन पसल, साडी पसल, गार्मेन्ट र निर्माण कम्पनीले बंगलादेशीलाई भित्र्याइरहेको स्रोतले बताएको छ। कतिपयलाई त दलालले नेपालबाट युरोप छिर्न सजिलो भएको भन्दै ल्याउने गरेका छन्। बंगलादेशीलाई नेपालसम्म ल्याउन बंगलादेश, भारत र नेपालकै केही दलाल सक्रिय छन्। दलालले त्यस्ता कामदारलाई भारतको कोलकातासम्म ल्याउने र काठमाडौंमा लामो समयदेखि बस्दै आएका बंगलादेशीले नेपाली दलालको सहयोगमा कोलकाताबाट काठमाडौंमा ल्याउने गरेको स्रोतले बताएको छ।

दलालले झापाको काँकडभिट्टा नाका छलेर त्यस आसपासको सीमाबाट बंगलादेशीलाई काठमाडौंसम्म ल्याउने गरेका छन्। त्यसरी आएका बंगलादेशीले प्रतिव्यक्ति कम्तीमा २० हजार रुपैयाँ दलाललाई दिने गरेका स्रोतले बताएको छ। नेपालमा भूकम्प गएपछि पुनर्निर्माणको काम पाइने भन्दै तस्करले बंगलादेशीलाई ल्याउने क्रम बढेको हो। केही बंगलादेशी उपत्यकाका विभिन्न स्थानमा निजी घर निर्माणमा काम गर्दै आएका छन्।

नेपालमा पहिल्यै आएर बसेकाकै संलग्नतामा मानव तस्करी भइरहेको स्रोतले बताएको छ। राहदानी र प्रवेशाज्ञा नभएका ती बंगलादेशीले अलिकति पैसा कमाएपछि नेपालको नागरिकता र राहदानी बनाउन खर्चिने गरेका छन्। दलालको सहयोगमा नागरिकता र राहदानी बनाउन सफल भए पहिलो रोजाइमा युरोपेली मुलुक र त्यहाँ नभए उनीहरू खाडी जाने गरेका छन्। विदेशीलाई नेपाली नागरिकता र राहदानी बनाउने गिरोह पनि काठमाडौंमै सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।