0 COMMENTS

काठमाडौँ, १८ माघ०७३/उपत्यका विकास प्राधिकरणले ’बाहिरी चक्रपथ’ को संशोधित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि एक साताभित्र मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । पछिल्लोपटक आयोजनाले पुरानो डीपीआरलाई केही संशोधन गरेको छ।

‘रोपनीका जग्गा कित्ताकाट भएर, घडेरीमा परिणत भएका छन्,’ बाहिरी चक्रपथ आयोजनाका निमित प्रमुख ध्रुव सापकोटाले भने, ‘अब केही समस्या छैन, ठूलो आयोजना भएकाले मन्त्रिपरिषदबाट अन्तिम स्वीकृत चाहिन्छ, साता दिनभित्रै स्वीकृत हुन्छ होला ।’

पहिलो चरणमा सतुंगल–चोभार खण्डको करिब ६ किमिमा आयोजनाले काम गर्ने तयारी गरेको उनले बताए । पुरै बाहिरी चक्रपथले निर्माण गर्दा करिब ८० हजारदेखि १ लाख रोपनीसम्म जग्गा अधिग्रहरण गर्नुपर्ने उनले बताए । चक्रपथ निर्माण गर्दा भत्किएका घरको मुआब्जा दिने, जग्गाको साटो जग्गै दिने उनले बताए ।

‘५० मिटर चौडाइ सडकवरपरै व्यवस्था गर्छौं, कसैले पनि विस्थापित हुनु पर्दैन,’ उनले भने, ‘तर, २ सय ५० मिटर दायाँबायाँ परेका घर भत्काउँदैनौं, खाली जग्गालाई ‘जग्गा विकास कार्यक्रम’ मार्फत घडेरीमा परिणत गर्छौं ।’ सरकारले निर्णय गरेको ११ वर्षपछि प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को अन्तिम डीपीआर तयार पारेको उनले बताए।

निर्माणका क्रममा जग्गा परे स्थानीय बासिन्दाले दाबी विरोध गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको उनले बताए । ‘विरोध पनि छैन,’ उनले भने, ‘अब सरकारले निर्देशन दिनेबित्तिकै प्रक्रिया अघि बढ्छ ।’ आव ०५६र५७ मा सरकारले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो।

व्यवस्थित बस्ती र दिगो सहरीकरणको महत्त्वाकांक्षी योजनाका रूपमा बाहिरी चक्रपथलाई अघि सारिएको थियो । बाहिरी चक्रपथवरिपरि वातावरणमैत्री, आधुनिक, प्रविधियुक्त र सुविधासम्पन्न बस्ती निर्माण गर्ने लक्ष्यसहित आयोजनाले काम थालेको सापकोटाले बताए। बाहय चक्रपथको सामाजिक तथा वातावरणीय अध्ययन पूरा भएको उनले जानकारी दिए।

उपत्यकाका तीनवटै जिल्लाका तत्कालीन ४० गाविस र ३ नगरपालिका छोएर ७१ दशमलव १० किमिको चक्रपथ प्रस्ताव गरिएको छ । उपत्यकाको दक्षिण र पूर्वी भूभागमा आवागमन सुविधा बढाउने र व्यवस्थित बस्ती विकास गर्ने उद्देश्यले आयोजना ल्याइएको हो । सम्पूर्ण चक्रपथ ५ वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । सतुंगलदेखि गम्चा हुँदै चोभारसम्म नयाँ ट्रयाक खोल्ने तयारी पूरा भएको उनले बताए। आजको कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।