काठमाडौं, १७ माघ । तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज रणोद्दीप सिंहका लागि आजपर्यन्त दैनिक तातो भात पस्किइँदैछ । वि.सं. १९४२ सालमा खड्गशमशेर, भीमशमशेर र डम्बरशमशेरले गोली प्रहार गरी प्रधानमन्त्री जनरल रणोद्दीपको हत्या गरिएको इतिहासमा उल्लेख छ ।
यिनै प्रधानमन्त्री सिंहको आत्मा अझै अमर छ भन्ने मान्यताका आधारमा पशुपतिस्थित बज्रघरमा स्व. सिंहका लागि भातभान्सा तयार गरिँदै आएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
ब्राह्मणद्वय लीलानाथ सिंखडा (गुह्येश्वरी) र क्रृषिराम चालिसे (अत्तरखेल, जोरपाटी)ले यो भान्सा तयार गर्दै आउनुभएको छ । भान्सामा भात, दालबाहेक अन्य तरकारी भने पाक्ने गरेको छैन ।
भान्से ब्राह्मण सिंखडाका अनुसार मासको दाल र भूस मिसिएको चामल (सरुवा चामल)को भात तयार गरेर श्री ३ महाराजलाई भान्सा तयार गर्नुपर्ने चलन छ ।
‘विगत केही वर्षदेखि भूस मिसिएको चामल हटाई राम्रै खाले चामल पकाउन थालेका छौँ’, अर्का भान्से ब्राह्मण चालिसे भन्नुहुन्छ ।
महाराज रणोद्दीप भगवान् श्रीरामका भक्त रहेका र सोही कारण उनैले रामभक्तेश्वर गुठी स्थापना गरेका थिए । सोही गुठीबाट आजपर्यन्त रणोद्दीपका नाममा भान्सा सञ्चालन हुँदै आएको छ ।
रामभक्तेश्वर गुठीका पुजारी उमेश कुइँकेल (भुवनेश्वरी, पशुपति)का अनुसार दैनिक चार पाथी चार माना चामल र तीन माना मासको दालसहितको भान्सा तयार हुन्छ । त्यसबाट रणोद्दीपलाई चार पन्यू भात पस्केर छुट्याएपछि बाँकी भात आएका जो कोहीलाई खुवाइन्छ ।
कुइँकेलका अनुसार बेसार महिनामा छ माना, नून तीन पाथी, असल घ्यू चार धार्नी र दैनिक ३५ पैसाको अचारबाट मासिक रूपमा यहाँको दैनिक भान्सा तयार हुन्छ ।
सर्वसाधारणले पनि यहाँ तातो पेट गर्न पाउँछन्, भान्सा गरिसकेपछि ल्वाँङ र सुपारी सहित भान्सा गर्ने सबैलाई बिदाइ गरिन्छ ।
रणोद्दीपका लागि खाना पस्किएपछि बिहान ठीक ९ बजे सर्वसाधारणले यहाँ भोजन गर्न पाउँछन् ।
पुजारी कुइँकेलका अनुसार उहिल्यैका पुराना पित्तलका थालमा सर्वसाधारणलाई यो भान्साको भोजन गराउनुपर्छ ।
तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ रणोद्दीपको हत्यापछि वीरशमशेर कास्की र लमजुङको श्री ३ महाराज सहित प्रधानमन्त्री भएका थिए ।
जङ्गे खलकलाई शमशेर खलकले हर क्षेत्रबाट उतिबेला परास्त गर्दै पलायन गराएको इतिहासमा अङ्कित छ, यसो भए पनि श्री ३ महाराज रणोद्दीपको आत्मालाई जीवित मान्दै यहाँ यो भान्सा तयार हुँदै आएको छ ।
ब्राह्मण भान्से चालिसे भन्नुहुन्छ, ‘रातमा यही भान्साघरमा सेतो कुर्था लगाएको अस्पष्ट आकृति छालाको जुत्ता बजार्दै यताउता गरेको देखिन्थ्यो, यो दृश्यले यहाँका पाले पुजारी तर्सन्थ्यौँ । अचेल मानिसको भीड बढ्यो, यस्तो देखिन्न सुनिन्न तर भात भान्सा चोखोनीतो गर्दै आएका छौँ ।’