काठमाडौं, १४ माघ / सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता अमनलाल मोदीले थारु, आदिवासी, मधेशी, मगर लगायतका माग सम्बोधन नभएर अर्को टीकापुर घट्ना दोहोरिने चेतावनी दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद मोदीले भने, ‘टीकापुर घट्ना एउटा नमूना मात्रै हो, यदि थारु, आदिवासी, मगर, मधेसीका माग सम्बोधन भएन भने संसारको कुनैपनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन् ।
सांसद मोदीले यदि समयमै माग सम्बोधन नगरिए मुलुकमा ठूलो संकट आउने खतरा औंल्याए । उनले भने– ‘यदि माग सम्बोधन गर्न सरकारले ढिलासुस्ती गर्यो भने चाहेर पनि देश हाम्रो हातमा रहँदैन् ।
नेता मोदीले कैलाली, कञ्चनपुर, झापा, मोरङ, उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश नदिए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले थारुहरुको माग सम्बोधन नभईकन सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरे आफूहरु बाध्य भएर त्यसको प्रतिकारमा उत्रिने समेत चेतावनी दिए । उनले भने– ‘हाम्रा मागहरु सम्बोधन नभइकन चुनाव घोषणा गरिए, हामी कुनै हालतमा मान्दैनौं ।’
‘प्रचण्डजी सफल हुन सक्नुभएन्’
उनले संविधान यथास्थितिमा औचित्यहिन रहेको समेत टिप्पणी गरे । आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकापनि पनि संशोधन गरेर समस्या समाधान गर्न गम्भीर नभएको उनको आरोप थियो । उनले भने, ‘संविधान संशोधन गरेर मुलुकलाई निकास दिने कुरामा प्रधानमन्त्री प्रचण्डजी गम्भिर बन्नुभएन, उहाँ सफल हुन सक्नुभएन ।’
दैनिकनेपालबाट साभार गरिएको |