काठमाडौं१२,माघ०७३/ नेपालमा रोजगारी नपाए खुल्ला सिमा भएको छिमेकी मुलुक बीना रोकावट जाने नेपाली चलननै बसेको थियो । जसमा सरकारले कुनै रोकावटनै गर्ने मात्र हैन केही रेकर्ड नै राखेको थिएन । तर अब रोजगारीका लागि भारत जान पनि सरकारसँग अनुमति लिनु पर्ने भएको छ । साथै बैदेशिक रोजगारीमा जानेहरूको बीमामा ५ लाखको घातक रोग बीमा थपिएको छ ।
मंगलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बैदेशिक रोजगारीमा राख्दै नयाँ व्यवस्था घोषणा गरेका हुन् । अहिले पनि भारतमा लाखौं नेपाली रोजगारीमा जान्छन् । तर, बैदेशिक रोजगारीमा परेका थिएनन् । अब भने भारतमा गएर काम गर्ने नेपालीहरुलाई बैदेशिक रोजगारीको मान्यता दिने प्रधानमन्त्रीले बताए ।
उनका अनुसार भारतमा रोजगारीका लागि जाने नागरिकले सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनु पर्नेछ । यो अनुमतिपत्र दिनु अघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउँछ । यसका लागि एक महिनाभित्र छुट्टै कार्यविधि बनाएर लागू गरिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
यसरी जानेहरुको साढे १२ लाखको म्यादी जीवन बीमा हुनेछ । र, कामको सिलसिलामा मृत्यु भएमा पीडित परिवारले बीमाका साथै वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख पाउनेछन् । प्रधानमन्त्रीले बैदेशिक रोजगारीका लागि जानेहरुको बीमामा ५ लाखको घातक रोग बीमा थप गरेको घोषणा गरे । हाल १० लाखको म्यादी जीवन बीमा छ ।
क्यान्सर, किड्नी फेल, दृहयघात, प्यारालाइसिस लगायतका १५ रोगलाई घातक रोगको सूचीमा राखिएको छ । माघ १५ गतेदेखि लागू हुने गरी घातक रोग वापत ५ लाख बीमांक बराबर बीमा हुने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए । अस्वस्थताको अवस्थामा पनि घातक रोग प्रमाणित भएमा पनि बीमा रकम पाइनेछ ।
साथै घातक रोग लागेर मृत्यु नभएको तर, शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन् । बैदेशिक रोजगार प्रवद्धर्न बोर्डबाट ३ लाख र घातक रोग बापत ५ लाख गरी कुल १८ लाखसम्म पाउन सक्नेछन् । यसअघि नै बीमा गरिएको तर, म्याद नसकिएकाहरुको हकमा घातक रोग बीमा र पछिल्लो व्यवस्था बमोजिम रक्षावरणको सुविधा लिन चाहेमा समानुपातिक थप शुल्क बुझाएर लिन सकिने प्रधानमन्त्रीले जानकारी दिए । खाडीसहितका सबै मुलुकहरुलाई बैदेशिक रोजगारीमा गएका नेपालीहरु सुरक्षित हुनुपर्छ भनेर सरकारले ठोस पहल गरिरहेको परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले बताए ।