काठमाडौँ १२ माघ २०७३/त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन तस्करी भएको विषयलाई लिएर सांसद्हरु र गृहमन्त्री बिमलेन्द्र निधिबीच दोहोरी चलेको छ ।व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको मङ्गलवार सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् र गृहमन्त्रीबीच दोहोरी चलेको हो ।
बैठकमा सभापति मोहनसिंह राठौरले सेटिङमा सुन तस्करी भइरहेको भन्नेबारेमा तपाईँको धारणा के छ ? भनेर प्रश्न सोधेलगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले उक्त प्रश्न संसदीय मर्यादा विपरीत भएको भन्दै आपत्ति जनाए ।उनले पत्रिकामा आएका समाचारलाई आधार मानेर सभापतिले सरकारमाथि सेटिङमा सुन तस्करी गरेको भनेर बहस चलाउनु उपयुक्त नभएको तर्क गरेका थिए ।
त्यसलगत्तै नेकपा एमालेका सांसद् शेरधन राईले संसदीय समितिलाई सरकारका कमजोरीबारे छलफल गर्ने अधिकार रहेको भन्दै मन्त्रीले उत्तेजित भएर प्रस्तुत हुनु अनुपयुक्त भएको बताए ।उनले अघिल्लो सरकारका पालामा विमानस्थलबाट सुन तस्करी नभएको दाबी गर्दै यो सरकारको पालमा तस्करी मौलाएको आरोप लगाए । उनले तस्करी मौलाउनुको कारण के हो ? भनेर गृहमन्त्रीलाई प्रश्न समेत गरे ।
एमालेकै अर्का सांसद् हर्कबोल राईले १५ करोड रुपैयाँभन्दा बढी मूल्यको सुन तल्ला तहका कर्मचारीबाट मात्र विमानस्थलबाट बाहिरिन सम्भव नरहेको भन्दै तस्करीमा संलग्न माथिल्लो तहका कर्मचारी तथा नेताबारेमा सत्यतथ्य बाहिर ल्याइनुपर्ने बताए ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सेटिङमा सुन तस्करी भएको प्रचार पूर्णत गलत भएको दाबी गर्दै तस्करीमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।
लामो समय दोहोरी चलेको अवस्थामा अर्थमन्त्री महराले आफ्नै सचिवालयका कर्मचारीलाई पनि कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सांसद्हरु शान्त भएका थिए ।