0 COMMENTS

काठमाडौँ, ११ माघ / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपाललाइ सन् १९६२ मा चीनसँग भएको युद्धमा नसघाउँदा नेपालले सधैं भारतको हस्तक्षेप र थिचोमिचो सहनुपरेको बताएका छन्।
पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा सोमबार भक्तपुरको दत्तात्रयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले सन् १९६२ को युद्धदेखि चीनको पक्ष लिएको भन्दै भारतले नेपालसँग बदला लिँदै आएको बताएका हुन्।‘सन् १९६२ को चीन–भारत युद्धमा भारत हारिरहेको थियो। उसले नेपालसँग सहयोग पनि मागेको थियो। तर, चीन पनि आफ्नो असल छिमेकी भएकाले नेपालले भारतलाई पनि सहयोग गरेन’,उनले भने,‘त्यसबेलादेखि चीनको पक्ष लिएको भन्दै भारतले नेपालसँग बदला लिँदै आएको छ।’
बिजुक्छेले उक्त युद्धको हारको चीनसँग बदला लिन भारतले नेपालमा माओवादी जन्माएकोसमेत दावी गरे। नेपालका माओवादीहरुको व्यवहारले पनि सो कुरा पुष्टि गर्दै आएको उनको दावी थियो। ‘माओवादी सत्तामा जाँदा नेपालले सधैं गुमाउँदै आएको छ’, उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा नेपाललाई भुटानको स्तरमा झारे। भारत अब नेपाललाई सिक्किम बनाउने उद्देश्यमा लागेको छ।’
नेपाललाई सिक्किम बनाउने भारतीय उद्देश्यअनुसार नै संविधान संशोधनको प्रस्ताव आएको सांसदसमेत रहेका बिजुक्छेको तर्क थियो। तर, संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने उनले जिकिर गरे।
‘माओवादीले एक–एक पाइला गरी नेपाल भारतको हातमा सुम्पँदै छ’, बिजुक्छेले भने, ‘पछिल्लो संविधान संशोधन नेपाललाई सिक्किम बनाउने उद्देश्यले आएको हो । जुन कुनै पनि हालतमा पारित हुन दिँदैनौं।’एक फरक प्रसंगमा बिजुक्छेले देशमा क्रान्तिको परिस्थिति तयार भएको दावी गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।