0 COMMENTS

काठमाडौं, १० माघ /सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ । ‘स्याटलाइट सिटी’ निर्माण गर्न प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि विशेषज्ञ खोजिरहेको छ ।
प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले डिपिआर निर्माणका लागि विशेषज्ञ छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘स्याटलाइट सिटी निर्माणको फिजिबिलिटी अध्ययन सकिएको छ, अब डिपिआर तयार हुन्छ । यसका लागि विशेषज्ञ छनोटको तयारी अन्तिम अवस्थामा पुगेको छ । डिपिआर तयार भएलगत्तै स्याटलाइट सिटी निर्माणको काम अघि बढ्नेछ,’ उनले नयाँ पत्रिकासँग भने । तिवारीले माघभित्रै डिपिआर तयार गर्न विशेषज्ञ टोली नियुक्ति गरिसक्ने जानकारी दिए । ‘विशेषज्ञ टोलीले एक वर्षभित्र डिपिआर तयार गर्नेछ । सोही रिपोर्टका आधारमा स्याटलाइट सिटी निर्माण प्रक्रिया अघि बढ्नेछ,’ उनले भने ।
कहाँ–कहाँ बन्दै छ ‘स्याटलाइट सिटी’ ?
प्राधिकरणका अनुसार पहिलो चरणमा उपत्यकाको दक्षिण–पश्चिमस्थित भैंसेपाटी, खोकना, बुङमती र छम्पीका केही क्षेत्र समेटेर ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । दोस्रो चरणमा भक्तपुरको बालकोट र गुण्डु गाविस, तेस्रो चरणमा भक्तपुरकै दुवाकोट, चाँगुनारायण क्षेत्र र काठमाडौंको साँखुभन्दा तलको क्षेत्र तथा चौथो चरणमा काठमाडौंको पञ्चेश्वर, साङ्ला र काभ्रेस्थलीलाई समेटेर विस्तारित सहर निर्माण गरिनेछ ।
डिपिआरका लागि मात्रै करिब १५ करोड खर्च
प्राधिकरणका अनुसार भैंसेपाटी, खोकना, बुङमती र छम्पीका केही क्षेत्रको करिब एक लाख रोपनीमा ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । बाँकीमा भने करिब १० हजार रोपनी क्षेत्रफलमा बनाइनेछ । एक लाख रोपनी क्षेत्रफलमा बनाइने ‘स्याटलाइट सिटी’मा डिपिआर गर्न १० करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । बाँकी १० हजार रोपनी क्षेत्रफल समेटेर निर्माण गरिने दुईवटा ‘स्याटलाइट सिटी’ को डिपिआरका लागि दुई–दुई करोड रुपैयाँ खर्च गरिनेछ । काठमाडौंको पञ्चेश्वर, साङ्ला र काभ्रेस्थलीमा निर्माण हुने ‘स्याटलाइट सिटी’को भने सम्भाव्यता अध्ययन सकिएको छैन । यसका लागि ३० लाख रुपैयाँ खर्च गरिनेछ ।
‘स्याटलाइट सिटीको डिपिआर तयार गर्न बजेटसमेत विनियोजन गरिएको छ । त्यसमध्ये एउटा क्षेत्रमा अझै सम्भाव्यता अध्ययन गरिएको छैन । यसका लागि बजेट विनियोजन भइसकेकाले चाँडै काम अघि बढ्नेछ,’ आयुक्त डा. तिवारीले भने ।
‘ल्यान्डपुलिङ’बाट ‘स्याटलाइट सिटी’ बनाइने
प्राधिकरणका अनुसार ‘ल्यान्डपुलिङ’ विधिमार्फत ‘स्याटलाइट सिटी’को निर्माण गरिनेछ । यसका लागि पहिलो चरणमा विस्तारित सहर निर्माण क्षेत्र तोकिनेछ । तोकिएको क्षेत्रमा छुट्याइएका जमिनलाई प्राधिकरणले आफ्नो नियन्त्रणमा खिचेर ‘टाउन प्लानिङ’ गर्नेछ । त्यहाँ विद्युत्, खानेपानी, ढल, सञ्चारजस्ता भौतिक पूर्वाधारका सबै सेवा निर्माण गरिनेछ । सहरभित्र खेल्ने ठाउँ, विद्यालय, कलेज, पार्कजस्ता क्षेत्र पनि तोकिनेछन् । यसभित्र निर्माण गरिने घरको कोड निर्धारण गरिनेछ । सबै पक्ष निर्माण भइसकेपछि ‘पुलिङ’ गरिएका जमिन पुनः जग्गाधनीलाई नै दिइनेछ । जग्गाधनीले प्राधिकरणले निर्धारण गरेको कोडअनुसार मात्र घर बनाउनुपर्नेछ ।
दुई वर्षभित्र काम सुरु हुन्छ (डा.भाइकाजी तिवारी, आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण)
‘स्याटलाइट सिटी’ निर्माणको अवधारणालाई मूर्तरूप दिन प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । यसको फिजिबिलिटी अध्ययन भइसकेको छ । डिपिआर तयार हुन करिब एक वर्ष लाग्छ । डिपिआर तयार भएपछि बृहत् छलफल हुन्छ । जनस्तरमा पनि यस विषयमा छलफल हुन्छ । सबैबाट पास भएपछि मात्र निर्माण प्रक्रिया अघि बढ्छ । त्यसो हुँदा अबको दुई वर्षभित्र ‘स्याटलाइट सिटी’ निर्माण सुरु हुन्छ ।
‘स्याटलाइट सिटी’ नेपालमा पहिलो
प्राधिकरणले अघि बढाएको ‘स्याटलाइट सिटी’ निर्माण अवधारणा नेपालमै पहिलो हो । विदेशमा भने यस खालका सहर धेरै बनेका छन् । विशेष गरी दुबईका समुद्रमा बनाइएका सिटी विश्वमा चर्चित छन् । सरकारले मध्यपहाडी लोकमार्गको १० ठाउँमा नयाँ सहर निर्माण गर्ने घोषणा गरेको छ । तर, त्यसको तयारी अझै अघि बढेको छैन ।टेकराज थामी, नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।