0 COMMENTS
Sarbendra Khanal
महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल

काठमाडौं, १० माघ२०७३/ बिजुलीको मिटर बिगारेर राज्यलाई अर्बौं ठगी गरेको अभियोगमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहालवाला ९ र अवकाशप्राप्त पाँच जना कर्मचारी छन् । राजधानी दैनिकले समाचार छापेको छ । पक्राउ पर्नेमा सुपरभाइजरसमेत छन् ।महानगरीय अपराध महाशाखाको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ, तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधानलगायत छन् ।

उनीहरूले मिटर बिगारेर उद्योगसँग १० वर्षभन्दा बढी समयदेखि प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले पानी, कपास, चक्लेट, बिस्कुटलगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर राज्यलाई अर्बौं अर्बौं ठगी गरेको प्रहरीको दाबी छ ।उनीहरूले गौशालास्थित रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानालगायतको मिटर बिगारेर रकम असुली गरेको भेटिएको प्रहरीले जनाएको छ । सुपरभाइजर श्रेष्ठको साथबाट प्रहरीले मेसिन बिगार्ने उपकरणसमेत बरामद गरेको छ ।

हेटौंडा कार्यालयका कर्मचारी प्रधानले भने हेटौंडाको हटियास्थित सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको बताए । उनीहरुविरुद्ध ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।