0 COMMENTS

काठमाडौं ९ माघ/युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ ।

गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कुमारनन्द खड्का र नवीनकुमार राईलाई पक्राउ गरेको हो । उनीहरूले सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई अपहरण गरी धनमाल लुट्नुका साथै फिरौती लिएर छाडिदिएका छन् ।

कुँवरलाई ४ पुसमा युवतीकै काठमाडौंको सुकेधारास्थित डेरामा बन्धक बनाई १२ लाख चेक लिएर छाडिएको थियो । पक्राउ परेका खड्का र राईलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए ।

गिरोहका युवतीसहित नाइके फरार छन् । घटनाको तीन सातापछि २९ पुसमा गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका खड्का र राई प्रहरी बनेर धम्क्याउने व्यक्ति हुन् ।

प्रहरीका अनुसार व्यवसायी कुँवरसँग प्रेमको नाटक गरी युवतीले महाराजगन्जस्थित आफ्नो डेरामा लिएर गएकी थिइन् । डेरामा पुगेपछि आफ्ना सहयोगीहरू बोलाई बलात्कार गरेको बताएकी थिइन् ।

प्रहरीलाई खबर गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै उनीहरूले ब्ल्याकमेलिङ गरेका थिए । कोठामै बन्धक बनाई पैसा दिए प्रहरीमा उजुरी नदिने भन्दै फिरौती माग्न थालेका थिए । खड्का र राई आफूहरू प्रहरी भएको भन्दै कोठामा गएर उनलाई थप धम्क्याएका थिए ।

कुँवरसँग भएको नगद, मोबाइल, सुनको सिक्री लुटेपछि १२ लाख रुपैयाँदिने सर्तमा उनलाई कोठाबाट मुक्त गरिएको थियो । मुक्त भएपछि कुँवरले आफूलाई योजनाबद्ध रूपमा फसाइएको भन्दै उजुरी दिएका छन् ।

‘सो गिरोहले धेरैजनालाई फसाइसकेको बुझिएको छ,’ महाराजगन्ज वृत्तका डिएसपी पुरीले भने, ‘अन्य पीडितहरू पनि सम्पर्कमा आउनुभएको छ ।’

पेसेवर रूपमा नै सो समूहले व्यवसायी तथा पैसावाल व्यक्तिहरू खोज्ने, सुन्दर युवतीहरू खटाएर प्रेमको नाटक गर्न लगाउने र सम्बन्ध राख्नका लागि भनेर कोठामा लिएर जाने गरेका छन् ।

त्यसपछि बलात्कार गरेको भन्दै पैसा माग्ने गरेको प्रहरीले जनाएको छ । सो समूहबाट एक सरकारी कर्मचारीसमेत पीडित भएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।