0 COMMENTS

 tareyaकाठमाडौं ८,माघ०७३/नेपाली चेली तेरिया फौजा मगरले चर्चित भारतीय कलाकारलाई पछि पार्दै फेरि एक पटक भारतीय टेलिभिजनको रियालिटी सोमा उत्कृष्ट नृत्यको उपाधि जितेकी छन् । भारतीय टेलिभिजन च्यानल कलर्सको रियालिटी सो ‘झलक दिखला जा’ मा नेपाली चेली तेरिया उपाधि विजेता बन्न सफल भएकी हुन् ।यो जितसँगै उनले फेरि एकपटक नेपाललाई नृत्यबाट भारतमा चिनाएकी छिन् । भारतीय अनलाइन बलिउड लाइफ डटकमका अनुसार सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा तेरियाले सबैभन्दा बढी एसएमएस र अनलाइन भोट प्राप्त गरेर विजेता बनेकी हुन् । शनिबार बेलुका १० बजेपछि कलर्स टेलिभिजनको ‘झलक दिखला जा’को फाइनल कार्यक्रममा नेपाली चेली तेरियालाई औपचारिक रूपमा विजेता घोषणा गरिने पनि सो अनलाइनले जनाएको छ । रूपन्देही रुद्रपुरकी १४ वर्षीया तेरियाले आफू सो प्रतियोगितामा दर्शकको भोटबाट उत्कृष्ट भएको जानकारी शुक्रबार दिउँसो आफ्ना हजुरबुबा कृष्ण फौजा मगरलाई गराएकी थिइन् । आफ्नी नातिनी तेरियालाई जिताउन आफूले सञ्चानल गरेको अभियानमा फेरि नेपालीले साथ दिएर नेपाललाई विश्वमा चिनाउन सघाएको तेरियाका हजुरबुबा कृष्णले बताएका छन् । बाल्यकालदेखि नृत्यमा पोख्त तेरियाले नेपालमै आफ्ना गुरुहरूसँग नृत्य सिकेर भारतमा सो सफलता हासिल गरेको उनले बताए ।

‘तेरिया जिताऔं अभियान’को सञ्चालक संस्था तेरिया मगर फाउन्डेसनका अध्यक्ष पनि हजुरबुबा कृष्ण नै हुन् । यो जित तेरियाको मात्र नभएर समस्त नेपालीको भएको उनको भनाइ छ । यो प्रतियोगितामा तेरियालाई जिताउने सम्पूर्ण नेपालीसँगै भोट गर्ने भारतीय नागरिकलाई पनि हजुरबुबा कृष्णले धन्यवाददिएका छन् । ‘झलक दिखला जा’को फाइनलमा भारतका दुई चर्चित नृत्य कलाकार सलमान युसुफ र सान्तनु महेश्वरीसँग तेरियाको प्रतिस्पर्धा हुँदै थियो । सलमान ‘डीआईडी’ पहिलो सिजनका विजेता तथा झलक दिखला जाका पूर्वविजेता हुन् । सोही कारण पनि प्रतियोगितामा तेरियाभन्दा सलमानको बढी चर्चा थियो ।

यस्तै शान्तनु वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता हुन् । तर, यी दुवैलाई पछि पार्दै तेरियाले भारतीय रियालिटी सो ‘झलक दिखला जा’ को इतिहासमा गैरभारतीय भएर पनि विजेताको रूपमा आफ्नो नाम लेखाएकी छन् । उपाधिसँगै उनले भारतीय रुपैयाँ ३० लाख र ‘रेनाल्ड डस्टर’ ब्रान्डको कार उपहार प्राप्त गर्दै छिन् । भारतमा यो नै तेरियाको पहिलो जित भने होइन । यसअघि सन् २०१४ मा तेरियाले सर्वोत्कृष्ट नृत्य प्रस्तुत गर्दै जी टिभीको रियालिटी सो ‘डान्स इन्डिया डान्स–लिटिल मास्टर’को उपाधि जितिसकेकी छन् । नवौं शृंखलाको ‘झलक दिखला जा’ सहित तेरियाले नृत्यमा भारतमा दुईओटा उत्कृष्ट उपाधि जितेकी हुन् ।

भारतीय सेनाबाट अवकाश प्राप्त कृष्ण फौजामगरले नै चार वर्षअघि आफ्नी नातिनी तेरियालाई मुम्बई लगेर ‘डान्स इन्डिया डान्स’ (डीआईडी लिटिल मास्टर) मा सहभागी गराएका थिए । सो प्रतियोगितामा उत्कृष्ट भएर पुरस्कार जितेपछि तेरियाले विश्वका विभिन्न देशमा पुगेर नेपाली झन्डा फहराउँदै आफ्नो नृत्य प्रस्तुत गरिसकेकी छिन् । डीआईडी च्याम्पियन बनेपछि तेरिया मुम्बईमै बसेर अध्ययन गर्दै छिन् । मुम्बईको सेन्ट लरेन्स हाइस्कुलमा अध्ययनरत तेरिया भविष्यमा विश्व चर्चित नृत्य कलाकार बन्न चाहन्छिन् । नृत्यमा जस्तै उनी अध्ययनमा पनि अब्बल भएको सो विद्यालयका शिक्षकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।