0 COMMENTS

काठमाडौँ०८ माघ०७३/  नेपाल यल निगमले अर्को महिना पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको छ । अन्तरराष्ट्रिय बजारमा निरन्तर भाउ बढेको भन्दै निगमले अर्को महिना पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको हो । निगमलाई अहिले ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा तथा डिजेलमा एक रुपैयाँ ५० पैसा घाटा छ । तर पेट्रोल, मट्टितेल र हवाइ इन्धनमा भने फाइदा छ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ३३ पैसा र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ १४ पैसा फाइदा रहेको निगमले जनाएको छ ।

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले शुक्रबार कारोबार अनलाइन टिभीसँग कुरा गर्दै धेरै खपत हुने डिजेलमा घाटा रहेकाले घाटा रकम अहिले मूल्य स्थरीकरण कोषबाट व्यहोरिरहेको र अर्को महिना मूल्य समायोजन गरिने बताए ।

निगमको मूल्य स्थरीकरण कोषमा हाल करिब ३ अर्ब रुपैयाँ छ । निगमले नाफा कमाउनका लागि स्वचालित मूल्य प्रणालीको फर्मुला परिमार्जन गर्ने भएको छ ।

निगमले स्वचालित मूल्य प्रणालीको अहिलेको फर्मुलाबाट नाफा कम भएको भन्दै फर्मुला परिमार्जन गर्न लागेको हो ।

स्वचालित मूल्य प्रणालीको अहिलेको फर्मुला अनुसार निगमले पेट्रोलमा १२ प्रतिशत तथा डिजेलमा १ प्रतिशत नाफा लिन पाउँछ ।

निगमले लिने मूल्यमध्ये पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ सडक मर्मत सम्भार कर तथा पेट्रोल र डिजेल दुवैमा प्रदुषण शुल्कवापत प्रतिलिटर ५० पैसा सरकारको खातामा जम्मा हुने गरेको छ ।
निगमका कार्यकारी निर्देशक खड्काले अहिलेको स्वचालित मूल्य प्रणालीबाट सञ्चालन खर्चको जोहो गर्न धौधौ परेकाले फर्मुला परिमार्जनका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।

बोनस बाँड्ने कुरा निराधार

कार्यकारी निर्देशक खड्काले कर्मचारीलाई बोनस बाँड्न लागेको भन्ने प्रचार निराधार भएको बताए । उनले निगम अहिले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउनतिर केन्द्रीत रहेको भन्दै पूर्वाधार विकासको काम सम्पन्न नभएसम्म कर्मचारीलाई बोनस नबाँड्ने बताए । निगममा हाल ४ सय २२ जना स्थायी तथा एक सय भन्दा बढी करार र ज्यालादारी कर्मचारी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।