माघ २,मनाङ २०७३/मनाङ मर्स्याङ्दी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । उसले शनिबार संकटालाई १–० ले पराजित गर्यो ।
सुदूरपश्चिममा आयोजना भएको प्रतियोगिताको फाइनलमा मनाङका कप्तान अनिल गुरुङले दोस्रो मिनेटमै गोल गरेर टिमलाई अगाडि बढाए । त्यही गोल नै निर्णायक बन्यो । उनी म्यान अफ द म्याच र उत्कृष्ट खेलाडी घोषित भई यामाहा कम्पनीको मोटरसाइकल हात पारे ।
दर्शकले भरिएको धनगढीको क्षेत्रीय रंगशालामा संकटाले थुप्रै अवसर सदुपयोग गर्न सकेन । दोस्रो हाफमा पाएको पेनाल्टी अवसरमा पनि संकटाका विश्व अधिकारी चुकेका थिए । मनाङले उपाधिसँगै ५ लाख रुपैयाँ हात पार्यो । संकटा भने २ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो ।
विभिन्न उत्कृष्ट खेलाडीलाई समान १५ हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताको उत्कृष्ट रक्षकमा मनाङका विराज महर्जन र गोलकिपरमा संकटाका राजु नगरकोटी चुनिए । राइजिङ प्लेयर्समा सुदूरपश्चिम–११ का नरेन्द्र चौधरी छानिए । सर्वाधिक गोलकर्ता पनि सुदूरपश्चिम–११ कै मनिराम चौधरी भए । उत्कृष्ट प्रशिक्षकको पुरस्कार मनाङका छिरिङ लोब्साङ गुरुङले पाए ।
आयोजक सुदूरपश्चिम–११ का अध्यक्ष सुरेश हमालले आगामी वर्ष आयोजना हुने गोल्डकपको पहिलो र दोस्रो पुरस्कारको राशि बढाउने घोषणा गरे । आगामी वर्ष गोल्डकप विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पार्ने बताइएको छ । खप्तड गोल्डकपमा नेपालका ९ ‘ए’ डिभिजन क्लबसहित भारतका २ र भुटानको १ गरी १२ टिम सहभागी थिए । आयोजक क्लबले प्रत्येक वर्षको पुस २१ देखि गोल्डकप सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
‘जित आयोजककै’
घरेलु मैदान । आयोजक टिम । दर्शकको समर्थन र क्वाटरफाइनलसम्मका खेलमा गरेको उत्कृष्ट प्रदर्शनले धेरैले खप्तड गोल्डकप आयोजक सुदूरपश्चिम–११ ले जित्ने उपेक्षा गरेका थिए । तर संकटाले शुक्रबार आयोजक टिमलाई सेमिफाइनलमा १–० ले पराजित गरेपछि उनीहरूको त्यो चाहना पूरा भएन ।
पहिलोपटक ठूलो धनराशिको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनुलाई पनि आयोजक टिमले आफ्नो जित ठानेको छ । ‘गोल्डकप आयोजना गर्ने हाम्रो लक्ष्य सफल भएको छ यो हाम्रा लागि जितभन्दा कम होइन,’ आयोजक टिमका अध्यक्ष सुरेश हमालले भने, ‘दैनिक २ हजार दर्शकले लगातार १० दिनसम्म फुटबल हेरेर मज्जा लिनु हाम्रो अर्को ठूलो जित हो ।’
छैटौं राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन गरेर चर्चामा आएको सुदूरपश्चिम–११ त्यसअघि कैलालीको दुर्गम लालबोझी गाउँको एउटा सामान्य क्लबका रूपमा परिचित थियो । स्रोत साधनको कमी, नियमित प्रशिक्षणको अभाव, क्लबको सामान्य आर्थिक अवस्थाका बावजुद पनि पहिलोपटक आयोजना भएको गोल्डकपमा गरेको उत्कृष्ट प्रदर्शनले भविष्यमा धेरै सम्भावना बोकेको टिमका रूपमा आफूलाई स्थापित गरेको छ ।
‘हामी कल्पना गरेभन्दा पनि बढी सफल भएका छौं,’ क्लबका अध्यक्ष हमालले भने, ‘देश र विदेशका नाम चलेका टिमसामु घरेलु टिम आफूलाई सशक्त टिमका रूपमा उभ्याउन सफल भएको छ ।’ सहयोग रकम नजुटे क्लबका सबै सदस्यले डेढ लाख रुपैयाँका दरले उठाउने सहमति गरेर गोल्डकप आयोजना गर्ने निर्णय भएको स्मरण गर्दै हमालले भने, ‘सुदूरपश्चिमको धनगढीमा ७० लाख रुपैयाँ सहयोग जुटाउनु सामान्य कुरा थिएन ।’
‘अरू सबै टिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको बाहुल्यता थियो,’ फुटबलका पूर्वखेलाडी दीपक उपाध्यायले भने, ‘सशक्त र चर्चामा रहेका टिमसँग सुदूरपश्चिम–११ ले गरेको प्रदर्शनले उसलाई सम्भावनाको टिमका रूपमा चिनाएको छ ।’
सुदूरपश्चिममा ५ लाख राशिको अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप नै अहिलेसम्मको ठूलो खेल प्रतियोगिता हो । छैटौं राष्ट्रिय खेलकुदपछि सुदूरपश्चिममा यो स्तरको खेल आयोजना सम्पन्न हुन सकेको थिएन ।
क्रिकेटको धनगढी प्रिमियर लिग राष्ट्रियस्तरका उद्योगहरूबाट प्रायोजित ठूलो प्रतियोगिता भए पनि स्थानीयस्तरमा यस वर्षदेखि सुुरु भएको खप्तड गोल्डकप नै ठूलो खेल प्रतियोगिता हो ।