बाटो खोइ ? चन्द्रमामा तिर पो पुग्यौं कि क्या हो हामी त । हाम्रो नजिकै विपरीत दिशाबाट आएको बसले हामीलाई पुरै छोप्दै वेस्सरी धुलो उडाएर बाटो नदेखेपछि मोटरसाइकल हाँकी रहेका मित्र भवेशलाई भने । म धुलोलाई छेक्न आँखा, नाक, मुख सबैबन्द गरेर उनीसँगै पछाडि बसीरहेको थिएँ । उनको कुराले खित्त् हाँसा उठ्यो ।
एक छटाङ धुलो पुरै भित्र गएको महसुस गरेँ । जीवनमा पहिलो पल्ट यस्तो धुलाम्य सडक जस्तो सडकमा हामीहरु गुडीरहेका थियौं । ४० किलोमिटर लामो पहाडी यस्तो धुलोमय सडक मोटरसाइकलमा पार गर्नु हाम्रो लागि ठूलो चुनौति र गजबको अनुभव भयो । उकालो, ओरालो, तेर्सो विभिन्न प्रकारको सडकहरु थिए । मुस्कीलले मोटर गुड्थ्यो । प्राय सबैतिर आधा फिट भन्दा बढी मैदाजस्तो अत्यन्तै पेलीएको मिहिन धुलोले ढाकेको थियो । खाल्डाखुल्डी, ढुङ्गा सबै धुलोले छोपेको हुँदा कैले ढुङ्गासँग ठोकिने, कैले खल्डामा फस्ने—वहुतै गाह्रो भयो । धेरै पटक लड्नबाट जोगियौं । हाम्रो यो यात्रा साहासिक खेलभन्दा कम थिएन । मित्र अशोक रानामगरको निमन्त्रणमा एक कार्यक्रमको लागि हामी पौषको अन्त्यतिर गोर्खा तर्फ लाग्यौं । मोटरसाइकलमा सजिलै पुग्न सकिन्छ भनेपछि सोही वमोजिम हामी हिड्यौं । हामीलाई आरुघाटबाट नजिकै रहेको आरुचनौटे गाविस, फूलपाती भन्ज्याङ मगरवस्ती पुग्नु थियो । धुलो र चिसोले लपेटीएको काठमाडौं खाल्डोलाई हामीले पौष २७ गते विहान ७ः३० बजे छाड्यौं । विस्तारै हामी पहाडको नागवेली बाटोभएर अघि बढ्यौं । नेपाली सडकको नियमीत संस्कारलाई पूरागर्न हामी केही वेर ट्राफिक जाममा फस्यौं । ११ बजेतिर मलेखु पुगेर विहानको खाना खायौं । सडक छेउको मोटेलमा खाना खाएर हामी धादिङवेसी तर्फ हानियौं । बाटो राम्रो थियो । हामीले इनजोए गरीरहेका थियौं । आजको गोर्खायात्रा सहज र रमाइलो हुनेमा हामी ढुक्क थियौं । विस्तारै धादिङवेसी पुगेर गोर्खा आरुघाटतर्फ लम्कियौं ।
कच्चीबाटो भएपनि राम्रै थियो । हाम्रो आशापनि त्यस्तै थियो । तर, केही छिन पश्चात हाम्रो सातो उड्यो जब वास्तवीक बाटो देख्यौं । ओहो । पूरै धुलोले ढाकेको कतै कतै असाध्यै साँघुरो । खल्डाखुल्डी, भिरालो, खोल्सो जस्तो, ढुङ्घा र गिटी छरीएका हेर्दा सडक जस्तो गुड्दा खोला जस्तो । ठाउँ ठाउँमा कालोपत्रे सडकको टुक्राटुक्री पनि देखिन्थ्यो । हामीले स्थानीयलाई सोध्यौं । कुनै वेला यहाँ कालोपत्रे गरिएको थियो रे ? सुन्दा अचम्म लाग्छ । नेपालमा काम कस्तो र कसरी हुन्छ । भ्रष्टचार कुनहदसम्म हुन्छ । त्यसको राम्रो नमूना थियो यो । जापानले बनाइदिएको सडक १० वर्षमा एउटा खाल्डो देखिन्न तर त्यही सडक नेपालले बनायो भने १० दिनमा १० ठाउँमा १० वटा खाल्डा बन्छ । थुइया विकासे व्वाँसोहरु । धिक्कारका ज्वाला उठे मनमा । हामी दुबैले यस्तो सडक जीवनमा पहिलो पटक व्यहोरेका थियौं । भवेसले मोटरवाइक हाँकीरहेका थिए । हाक्नेलाई पनि सास्ती । पछाडि वस्नेलाई पनि सास्ती । दुबैजना धुलोले नचिन्ने भएका थियौं । तर, गजबको कुरो यस्तो बाटो भएर हरदिन दर्जनौं वस, मालवाहक ट्रक तथा मोटरसाइकलहरु ओहोर दोहोर गर्दा रहेछन् । मित्र अशोक त्यस मध्येका एक । डर लाग्दैन यस्तो बाटोमा दैनिक यात्रा गर्नुपर्दा ? हामीले स्थानीयलाई सोध्यौं । मुटुमाथि ढुङ्गाराखी हाँस्नु पर्या छ । उनले गीतबाट घोचे । हिउँदोमा यस्तो सडक वर्षायाममा कस्तो होला ? तीन निर्वाचन क्षेत्र भएको गोर्खामा सबै क्षेत्रमा यसपाली पनि मोओवादीले जितेका छन् । मैले डा.बाबुराम भट्टराईलाई सम्झें । हुन त उनी यो क्षेत्रका होइनन् तथापि देशमा आमुल परिवर्तन ल्याउन हिडेका माओवादीहरुले साना साना काम पनि नगरेको देख्दा दिक्क लाग्छ । यिनले जनयुद्धकालमा जती तोडफोड र नोक्सानी देश र जनतालाई दिए, त्यसको आधा पनि विकास गर्न सकेका छैनन् । यतिखेर पनि सत्ता तिनै छन् । उल्लेख्य काम केही भएको छैन । देशभरी जनता यस्तै सडकमा आफ्नो उज्जवल भविष्यको लागि दैनिक हिड्नुपर्छ । चिल्ला सडक र जहाजमा हिड्नलाई यस्तो बाटोको के हेक्का र ? … पहाडको टुप्पोतिर पुगेर फेरि हामी तल वेँसी तर्फ झर्यौं । अलि वर आइपुगेपछि बुढी गण्डकी सुसाएको सुन्यौं, देख्यौं । धुलोले छोपीएर थकित भए पनि बुढीगण्डीको सुसाइले मन पुलकीत भयो । मलाई नदीनालाको दृश्यवलोकन खुबै मनपर्छ ।
कनचन पानी सुसाउँदै बगेको नदी देख्दा मन वहुतै खुलेको महसुस हुन्छ । १० किलोमिटर जती हिडेपछि फेरि अलि फराकिलो बाटो आयो । २४ पहाडी जिल्लाहरुलाई जोड्ने मध्य पहाडी लोकमार्गले गोर्खालाई पनि जोडेको छ जुन यही सडक भएर अघि बढ्ने रहेछ । यो गोर्खालीहरुको लागि खुशीकै कुरा हो । तर, कुन जुनीमा यो सम्पन्न हुन्छ दैव जानोस । वल्लतल्ल हामीहरु धादीङलाई छाडेर गोर्खाको आरुघाट बजार आइपुग्यौं । बुढीगण्डी नदीले दुइजिल्ला छुट्याउँदो रहेछ । तर, निकट भविष्यमो यो बजार डुब्ने कुरा सुनियो । १२०० मेगावटको देशको एक ठूलो बुढीगण्डी हाइड्रो प्रोजेक्ट यहीँ नजिकै निर्माण हुनेरहेछ । यदि त्यो पूरा भयो भने त्यसले गोर्खा मात्र नभएर सिंगोलाई खुशी छर्ने पक्का छ । तर, यो पनि कुन जुनीमा बन्ने हो दैव जानोस । … फोनमा मित्र अशोकलाई सम्पर्क गर्यौं । अब जम्मा ७ किलोमिटरमा ठ्याक्कै मेरो घर आइन्छ । हामी फेरि उत्साहित भएर लाग्यौं । धुलोसँग फेरि पौंठेजोरी शुरु भयो । ओहो बाटो झन खतरनाक । झन अफ्ठ्यारो । झन साँघुरो । उकालो । ओरालो । भिरै भिरै । मोटरसाइकललाई ठेलदै, ठेलदै अघि बढ्यौं ।
लखतरान भएर साँझ ५ बजे हामी फूलपाती भन्ज्याङ पुग्यौं । हाम्रो पर्खाइमा बसेका मित्र र उनको परिवारलाई भेट्दा हामीले जीउभरी लपेटीएको धुलो र थकान विर्सर्यौं । … एक घरायसी धार्मीक कर्ममा भागलिन गएका हामी त्यहाँको मगर समाज र संस्कृति देखेर पुलकीत भयौं । एकातिर पन्चेबाजामा नाचगान चल्यीरहेको थियो भने अर्काेतर्फ सोरठीमा वुढावुढीहरु जमेका थिए । चिसो रातलाई च्यालेन्ज गर्दै पुरै रात कार्यक्रम चल्यो । नेपाल विश्वमा फरक हुनुको मुख्यकारण यसको संस्कृति हो । थरीथरीका भेषभुषा र संस्कार हो । गोर्खाको कुनामा मगरसंस्कृतिलाई नियाल्दा लाग्यो कि हामीहरु वास्तवमै भाग्यमानी छौं । … हामीलाई जानुमात्र होइन फर्कनु पनि थियो । फेरि एक पटक धुलोसँग हामीले घमासान पौठाजोरी खेल्नु थियो । तर, त्यसको लागि हामी तयार थियौं । … मलाई गोर्खाको यो यात्राले वोध भयो कि नेपाली जनता कती विकास प्रेमी छन् ।
यस्तो कहालीलाग्दो बाटोमा पनि उनीहरुले लगानी गरेर आफैं पनि बाटो खनेका छन् । गाडी गुडाएका छन् । तर, सरकार आफ्नो काममा पटक्कै इमान्दार छैन । तलदेखि माथीसम्म भ्रष्टचार बढेको छ । ढिलासुस्ती छ । काम भन्दा बढी कुरा हुन्छ यहाँ । नेताहरु जनतामुखी होइन सत्तामुखी र सुखी भएका छन् । कहिले यिनको घैटोमा घाम लाग्ने हो थाहा छैन । तर, पनि म आशा गर्छु कि अर्काे पटक मेरो मित्रको घर पुग्दा अफ्ठ्यारो बाटोमा धुलोसँग पौंठाजोरी खेल्दै होइन चिल्ला एवं फराकिला सडकहरुमा सरर गुड्दै प्राकृतिक छटाहरुसँग लुकामारी खेल्दै पुग्न पाइयोस ।
विवेक विनयी प्रिन्सिपल जुगल इङ्लिस मिडियम स्कूल, कपन