0 COMMENTS

 काठमाडौं,२९पुस२०७३/ प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार चुनाव घोषणाको अन्तिम तयारीमा रहेकाले प्रमुख प्रतिपक्षी दलको साथ चाहिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख ३ दलका शीर्ष नेतालाई बिहीबार बोलाएको ‘डिनर वार्ता’मा दाहालले स्थानीय तहको चुनावको गृहकार्यमा सरकार रहेको बताएका हुन् ।

प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओलीले भने आफूहरूले सुरुदेखि नै चुनावको माग गरे पनि सत्तारूढ गठबन्धनले नै वातावरण बिगारेको दाबी गरेका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीलाई साँझ साढे पाँच बजे शीतल निवास बोलाएकी थिइन् ।

सरकारले अघि बढाएको संविधान संशोधन विधेयक, स्थानीय चुनाव, लोकमान प्रकरणलगायतमा ३ प्रमुख नेताबीच छलफल भएको स्रोतले बतायो । राष्ट्रपति भण्डारीको मुख्य चासो चुनावमार्फत संविधान कार्यान्वयन कसरी हुन सक्छ भन्नेमै केन्द्रित थियो । प्रधानमन्त्री दाहालले एक साताभित्रै चुनाव मिति घोषणा गर्ने पक्षमा सरकार रहेको बताएका थिए । उनले त्यसको वातावरण बनाउन संशोधन विधेयकमा समर्थन गरिदिन ओलीसमक्ष आग्रहसमेत गरेका थिए । देउवाले पनि विधेयकलाई समर्थन गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले भने चुनावका लागि संशोधन विधेयक अघि सार्नै नपर्ने भन्दै अन्य सहयोग हुने बताएको स्रोतले जानकारी दियो ।

‘तपाईंहरू संविधान कार्यान्वयनलाई अलमल्याउन थोरै सिट भएका मोर्चाको पछि धेरै लाग्नुभयो । यति धेरै जनप्रतिनिधि भएको एमालेसहितका विपक्षीलाई सहमत गराउनतिर लाग्नुभएन,’ चुनावी ढिलाइमा सरकारकै कमजोरी रहेको औंल्याउँदै ओलीले भने, ‘जतिसक्दो चाँडो चुनावी प्रस्ताव ल्याउनुहोस् । हाम्रो साथ हुनेछ ।’ दाहालले शुक्रबारै व्यवस्थापिका संसद्मा चुनावसम्बन्धी विधेयक पास गर्ने तयारी रहेको बताएका थिए ।

स्रोतका अनुसार शीर्ष नेताको संवादमा सर्वोच्च अदालतले हटाएका अख्तियार प्रमुख लोकमानसिंह कार्कीको प्रसंगसमेत उठेको थियो । दाहालले जनप्रतिनिधिहरूकै संस्था संसद्बाट लोकमानलाई महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा दलहरू चुकेको बताएका थिए । ‘अदालतले हटाइदियो राम्रो भयो, तर, संसद्बाटै महाअभियोग लगाउनुपथ्र्यो,’ उनले भने । ओलीले भने अहिले आएर यस्तो भन्नुको तुक नरहेको बताएका थिए ।

देउवाले विधेयकमा अलमल गर्नु चुनावमा ढिलाइ हुनु हो भन्दै ओलीको ध्यानाकर्षण गराएको स्रोतले बतायो । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले राष्ट्रपति भण्डारीले ३ दलका शीर्ष नेतालाई समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाएको बताए । यसैबीच राष्ट्रपति भण्डारीले कान्छी छोरीको यही माघ ३ गते हुने बिहेमा उपस्थित भइदिन शीर्ष नेतृत्वलाई निम्तोसमेत गरेकी छन् । भण्डारीकी छोरी निशाकुसुमको विहे प्रथम राष्ट्रपति रामवरण यादवका नाति अभिषेकसँग हुन लागेको हो । उनीहरूको शीतल निवासमै टीकाटालो भएको थियो । अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । अभिषेक र निशाकुसुम स्कुलदेखिकै सहपाठी हुन् ।-कान्तीपुर

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।