0 COMMENTS

काठमाण्डाै,२७पुस०७३/  प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अवस्था बिग्रिँदै जानुमा अस्पतालका पदाधिकारी र कर्मचारीको कमजोरी रहेको बताएका छन्। भरतपुर उपमहानगरपालिकाको मंगलबार तेश्रो नगर परिषदको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले अस्पतालका मेसिनहरु पुराना भएर केही समस्या भएपनि मुख्य समस्या त्यहाँ कार्यरत पदाधिकारी र कर्मचारी रहेको आरोप लगाए।कान्तिपुर दैनिकमा खबर प्रकाशित छ।

‘मैले क्यान्सर अस्पतालका बारेमा धेरै कुरा सुनेको छु,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयका मन्त्रीसित छलफल गर्छु।’ क्यान्सर अस्पताल अहिले आफैं रोगी भएको धेरैले सुनाएको बताउँदै उनले भने, ‘अस्पतालमा जोसुकै आएपनि अरुको खुट्टा तान्नैपर्ने, सबैलाई समेटेर जानुको सट्टा अनावश्यक र अस्वस्थ्य प्रतिष्पर्धा गरेर सेवा प्रभावित बनेको हो।’अस्पताल ‘बाँदरको हातमा नरिवल’ हुने हो कि भन्ने डर पैदा भएकाले समस्या समाधानका लागि नीतिगत निर्णय गरेर सुधारेरै छाड्ने प्रतिबद्धता उनले व्यक्त गरे। परिषदमा सहभागी वक्ताले क्यान्सर अस्पताललाई क्यान्सर लागेकोले त्यसको उपचार खोज्न दाहालसित आग्रह गरेपछि उनको यस्तो भनाई आएको हो।

प्रधामन्त्री दाहालले राजा पृथ्वीनारायण शाहको शालिक भत्काउनु पर्छ भन्दै हिँडेका आफ्ना पार्टी भित्रका कार्यकर्तालाई समेत त्यसो नगर्न कडा निर्देशन दिएको बताए। नगरपरिषदमा राप्रपाका नेता बद्रि तिमल्सिनाले पुस २७ गते पर्ने पृथ्वीनारायण शाहको जन्म जयन्तिका दिन बिदाको घोषणा गर्न आग्रह गरेका थिए। ‘पृथ्वीनारायण शाहको भूमिकालाई नकार्न सकिन्न,’ उनले भने, नेपाललाई केन्द्रिकृत बनाउन खेलेको भूमिकालाई सकारात्मक रुपमा लिनुपर्छ। पृथ्वीनारायणको भूमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी व्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।