पुस २७, २०७३- ३३ किलो सुन बरामद प्रकरणमा तस्करलाई समातेर सार्वजनिक गर्नुपर्ने जिम्मेवार पदाधिकारीहरूले अर्थ समितिमा उल्टै भने–
यस्तो गिरोहको सञ्जाल देशका थुप्रै ठाउँमा फैलिएको छ । अर्थ र गृह दुवै मन्त्रालयले दोषी सार्वजनिक गर्नुपर्छ ।
– कृष्णबहादुर महरा
उपप्रधान एवं अर्थमन्त्री
तस्करीमा कुन–कुन निकायका को–को संलग्न छन् र तस्करीको लाभ कसले प्राप्त गरिरहेको छ, पत्ता नलगाई हुँदैन ।
– उपेन्द्रकान्त अर्याल
प्रहरी महानिरीक्षक
विमानस्थल सुरक्षा घेरा पार गर्दै गत बिहीबार बाहिरिएको ३३ किलो अवैध सुन बरामद भएको घटनालाई उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय लज्जा भनेका छन् । संसदको अर्थ समितिको बैठकमा मंगलबार महराले सुन तस्करीमा ठूलै संगठित गिरोहको सञ्जाल रहेको बताए । ‘यस्तो गिरोहको सञ्जाल देशका थुप्रै ठाउँमा फैलिएको छ,’ उनले भने । मन्त्री महराले तस्करीको घटनामा अर्थ र गृह दुवै मन्त्रालयले दोषी सार्वजनिक गर्नुपर्ने बताए ।
समिति सभापति प्रकाश ज्वालाले हाकाहाकी सुन तस्करी हुनु सामान्य विषय नभएको बताए । ‘सुरक्षाका दृष्टिले संवेदनशील मानिएको अन्तर्राष्ट्रिय विमानस्थलबाटै तस्करी हुनु अति गम्भीर कुरा हो,’ उनले भने, ‘यो उदेकलाग्दो र नांगो विषय हो ।’ ज्वालाले एक्सरे मेसिनबाट हुने जाँच र अनेकन सुरक्षा तह पार गर्दै कसरी अवैध सुन भित्रियो भन्ने प्रश्न गर्दै भने, ‘कि सुरक्षा निकायले तस्करहरूले भूमिगत बाटोबाट सुन ल्याइरहेका छन् र त्यसलाई बन्द गर्न सक्दैनौं भन्नुपर्यो ।’
यो घटनाले यसअघि पनि सुन तस्करी भइरहेको थियो भन्ने आशंका जन्माएको ज्वालाले बताए । उनले अर्थ मन्त्रालय, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सुरक्षा निकायको दायित्व के हो भन्ने प्रश्न पनि गरे । ‘सधैं भरियामात्रै समातिने मुख्य मालिक नसमातिने किन हो ?’ उनको प्रश्न थियो ।
बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सधैं भरियामात्रै समातिने र खलनायक बाहिरै रहने हो भने यस्तोखाले आर्थिक अपराध निरन्तर चलिराख्ने बताए । उनले यो घटनाले सुन तस्करी निरन्तर भइरहेको प्रमाणित भएको पनि बताए । आर्थिक वर्ष ०७०/७१ मा ७६ करोड रुपैयाँ र आर्थिक वर्ष ०७१/७२ मा ३० करोड रुपैयाँ बराबरको अवैध सुन बरामद भएको जानकारी अर्यालले दिए । उनले भने, ‘तस्करीमा कुन–कुन निकायका को–को संलग्न छन् र तस्करीको लाभ कसले प्राप्त गरिरहेको छ, पत्ता नलगाई हुँदैन ।’
यसअघि प्रहरीले सुन बरामद गरेपछि थप अनुसन्धानका निम्ति राजस्व अनुसन्धान विभागमा बुझाउने गथ्र्यो । प्रहरीका उपल्ला अधिकारीहरूका अनुसार फितलो अनुसन्धान र अवैध साँठगाँठका कारण सधैं भरिया मात्रै जेल पर्ने वा थोरै जरिवानामा छुटने गरेको देखिन्छ । यो घटनामा भने केन्द्रीय अनुसन्धान ब्युरोले भरियामात्रै पक्राउ पर्ने परम्परा निरन्तर हुन नदिन फरक ढंगले अनुसन्धान थालेको छ । ब्युरोले पहिलोपटक सुन तस्करीको घटनामा संगठित अपराध निवारण ऐन २०६९ अन्तर्गत मुद्दा चलाएर अनुसन्धान सुरु गरिसकेको छ । महानिरीक्षक अर्यालले भने, ‘गहिराइसम्म पुग्नकै लागि संगठित अपराधअन्तर्गत मुद्दा चलाएको हो,’ महानिरीक्षक अर्यालले भने । यो ऐनअन्तर्गत मुद्दा चलाएपछि सुन तस्करीको मुद्दा प्रहरीले आफैं हेर्न पाउनेछ भने अनुसन्धानका निम्ति लामो समयसम्म थुनामा राख्ने अधिकार पाउनेछ । महानिरीक्षक अर्यालले विमानस्थलको भन्सार जाँच गर्ने एकाइमा प्रहरीलाई प्रवेश नै गर्न नदिने परिपाटीमाथि प्रश्न उठाएका थिए । उनले भन्सार क्षेत्रमा प्रहरीको उपस्थिति निषेध गरिनु त्रुटिपूर्ण भएका बताउँदै भने, ‘यसमाथि समीक्षा गर्नुपर्छ ।’
राजस्व सचिव राजन खनालले सुन बरामद भएका बेला विमानस्थलमा खटिएका २९ कर्मचारीलाई तत्काल निलम्बनमा राखेर अनुसन्धान थालिएको जानकारी दिए । बैंकिङ च्यानलबाट आइरहेको सुन नै नेपाली बजारमा पर्याप्त हुँदाहुँदै तस्करीको सुन किन आइरहेको छ ?’ खनालले तस्करीको सुन भारतीय बजारमा पठाउनका लागि ल्याएको आशंका गर्दै भने । उनले एक हजार र पाँच सय भारु नोट नचल्ने पछिल्लो भारतीय मौद्रिक नीतिको साइनो सुन तस्करीसँग हुन सक्ने बताए । ‘अवैध सुनका निम्ति सटही प्रयोग भइरहेको हुन सक्छ,’ उनले भने ।
सुन तस्करीबारेको छलफलमा गृहमन्त्री र गृह सचिवलाई बोलाइए पनि अनुपस्थित रहेकामा समितिका सभापति ज्वालाले असन्तुष्टि जनाए । गृह प्रवक्ता बालकृष्ण पन्थीले गैरकानुनी कामबाट प्राप्त लाभ र त्यस्तो कामबाट हुने सजायको अन्तर हेरेर नै कर्मचारीहरू यस्ता अवैध काममा लागिपर्ने बताए । उनले भने, ‘यो एक्लो व्यक्तिको काम होइन । संगठित अपराध हो ।’
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले तस्करीको घटनालगत्तै दुई दिनको सीसीटीभी फुटेज संकलन गरेर अध्ययन थालेको बताए । त्यस्तो फुटेजमा शंकास्पद व्यक्तिको गतिविधि नियालिरहेको उनले जानकारी दिए । ‘भन्सारबाट त्यति ठूलो परिमाणमा सुन कसरी पास भयो र यसमा प्रविधि वा कर्मचारी कहाँ चुके भनेर खोज्न समिति नै बनाएर अध्ययन थालिएको छ,’ उनले भने ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरि अधिकारीले त्यतिका धेरै सुन अवैध बाटोबाट ल्याउन कसरी वैदेशिक मुद्रा विदेश पुग्यो भन्ने प्रश्न गरे । उनले विप्रेषणको रकम वैध बाटोबाट नआउँदा त्यसको प्रयोग अवैध सामग्री ओसारपसारमा प्रयोग हुने खतरा रहेको बताए ।
बैठकमा केन्द्रीय अनुसन्धान ब्युरोको डीआईजी नवराज सिलवालले सुन तस्करीको घटनालाई सामान्य रूपमा हेर्न नहुने बताए । उनले सुनजस्तै तस्करी गरेर विस्फोटक पदार्थ वा जैविक हतियार ल्याएको भए के हुन्थ्यो भन्ने प्रश्न गरे । उनले भने, ‘यो सिंगो राष्ट्रिय सुरक्षासँग जोडिएको प्रश्न हो । प्रहरीलाई भन्सार जाँच क्षेत्रमा प्रवेश निषेध गरिने परम्परामाथि समीक्षा गर्नुपर्छ ।’ उनले विमानस्थलमा कार्यरत विभिन्न सरकारी निकायबीच समन्वय अभाव रहेको बताए । सिलवालले तस्करीको सञ्जाल पत्ता लगाउनुपर्नेमा जोड दिँदै विमानस्थलको सुरक्षा प्रणालीमाथि पुनरावलोकन गर्नुपर्ने बताए । बैठकमा केन्द्रीय अनुसन्धान ब्युरोको अधिकारीले पनि हरेक निकायको आ–आफ्नै प्राथमिकता हुँदा मुख्य प्राथमिकता ओझेलमा परेको बताए । ती अधिकारीले भने, ‘विमानस्थल व्यवस्थापन निकायले सुरक्षा संवेदनशीलतालाई बुझेको छैन ।’ वैठकमा केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख डीआईजी नवराज सिलवाल, आन्तरिक राजस्व विभागका प्रमुखदेखि गृह र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए । सुन तस्करीको विषयमा समितिले बुधबार पनि बैठक डाकेको छ ।
सुन तस्करीको घटनाबारे छलफल गर्न बिहीबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रहरी महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरो र गृह सचिवलगायतसँग बैठक गरेका थिए । बैठकमा गृहमन्त्री निधिले सुन तस्करीमा ठूलै संगठित अपराधीको संलग्नता रहेको बताउँदै गम्भीर अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
सुरक्षा प्रणालीमै प्रश्न
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत बिहीबार विमानस्थलको मुख्य प्रवेश द्वार (गोल्डेन गेट) छेउबाट ३३ किलो अवैध सुन बरामद गरेपछि तस्करीका निम्ति ‘सेटिङ’ भएको चर्चा सतहमा आएको छ । भन्सारको नियमित सुरक्षा घेरा पार गरेर त्यतिका परिणामको सुन बाहिर आउनु शंकास्पद भएको अनुसन्धान अधिकारी बताउँछन् । विमानस्थलको भन्सार पार गरेर आएको ३३ किलो अवैध सुन बरामदको घटनाले विमानस्थलको सुरक्षा प्रणालीमाथि नै प्रश्न उठेको छ । जबकि विमानस्थलको सुरक्षामा ३ सय ५० प्रहरी खटिएका हुन्छन् । त्यस्तै नेपाल प्रहरीको प्रतिआतंकवाद ब्युरो, राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरी संयन्त्र, प्रहरीकै लागूऔषध ब्युरो र नेपाली सेनाको २४ सै घण्टा कडा निगरानी हुन्छ ।
स्रोतका अनुसार अनुसन्धान ब्युरोले सुन तस्करीमा पक्राउ परेका गोपालबहादुर शाही, दीनबन्धु थापा र सन्तोष काफ्लेको टेलिफोन कनेक्सन अध्ययन गरिरहेको छ । विमानस्थलको भन्सार जाँच क्षेत्रको सीसीटीभी फुटेजसमेत ल्याएर ब्युरोले अनुसन्धान अघि बढाइरहेको छ । स्रोतका अनुसार सुनको असली मालिक नेपालभित्रैको हो भन्नेमा अनुसन्धान नजिक पुगिसकेको छ । प्रहरीले बरामद गरेको सुनमा २ सय ८२ वटा दस तोलाको बिस्कुट, १८ वटा सिक्री र १९ वटा औंठी थियो । बरामद सुनको बजार मूल्य करिब १५ करोड रुपैयाँ छ । प्रहरी स्रोतका अनुसार यसरी अवैध तरिकाले ल्याइएको सुनमा प्रतिकिलो करिब पाँच लाख रुपैयाँ फाइदा हुन्छ ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ मा अवैध सुन बरामदका विभिन्न २२ घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भए । यो अवधिमा १२ नेपाली १४ भारतीय १ बंगलादेशीसहित २७ जनाबाट १८ किलो ३ सय ९५ ग्राम अवैध सुन बरामद भयो । ठ्याक्कै यस्तै प्रवृत्ति आर्थिक वर्ष २०७२/७३ मा पनि दोहोरियो । यो अवधिमा विमानस्थलबाट मात्रै १४ केजी ८ सय ४ ग्राम अवैध सुन बरामद भयो । जसमा ३७ नेपाली, ६ भारतीय, ३ बंगलादेशी, १ थाई र १ बेलायतीसहित ४८ जना पक्राउ परे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार साउनयताको पाँच महिनामा मात्रै काठमाडौंका विभिन्न स्थानबाट १९ किलो ५ सय ९८ ग्राम अवैध सुन बरामद भएको छ । बरामदका पाँचमध्ये तीन घटना विमानस्थलसँग सम्बद्ध छन् । अवैध सुन बरामदका तथ्यांक केलाउने हो भने, कैयन् घटनामा विमानस्थलस्थित भन्सार र सुरक्षा निकायकै संलग्नता जोडिन्छ । यो अवधिमा केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाट बाहिरिएको करिब ३३ केजी सुन बरामद गरेको बिहीबारको घटना पहिलो हो । यसअघि कात्तिकमा विमानस्थलबाटै ६ केजी ३ सय ७४ ग्राम अवैध सुन बरामद भएको थियो । kantipur.ekantipur.com– जनकराज सापकोटा, काठमाडौं