0 COMMENTS

Kp-oliकाठमाडौं, २३ पुस०७३/ संविधान संशोधनविरुद्ध आन्दोलनरत एमालेसहित विपक्षी नौ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । ‘राष्ट्रिय एकता, स्वाधीनता र सामाजिक सद्भावका पक्षमा एकता’को नाम दिएर नौ दलले दोस्रो जनआन्दोलनपछि ठूलो शक्ति प्रदर्शन गरेका हुन्, आजको नयाँ पत्रिकाले खबर छापेको छ । 
ओलीका मुख्य तीन घोषणा
१. ढुक्क हुनुस्, प्रस्ताव पारित हुन दिइन्न
एमाले अध्यक्ष केपी ओलीले पहिलो पार्टीबराबरकै हैसियतमा संसद्मा राष्ट्रिय हितप्रति प्रतिबद्ध एमालेको उपस्थिति रहेको दाबी गर्दै कुनै हालतमा सीमांकन हेरफेरसहितको संशोधन प्रस्ताव पारित हुन नदिने घोषणा गरे । ‘देशभक्तिको आन्दोलनमा एमाले छ । एमालेजस्तो राष्ट्रिय हितप्रति प्रतिबद्ध पार्टी पहिलो पार्टीसरहकै हैसियतमा संसद्मा उपस्थित छ,’ उनले भने, ‘ढुक्क हुनुहोस्, राष्ट्रहितविरोधी संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिइनेछैन ।
२. तराईमा मेची–महाकाली जागरण
ओलीले सभामार्फत फागुन दोस्रो साताबाट सिंगै तराईमा ठूलो मेची–महाकाली जागरण अभियान चलाउने घोषणासमेत गरे । तराईबाट एमालेलाई खेद्ने मधेसी मोर्चाका नेताहरूको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले लाखौँको जागरण अभियानबाटै ‘हैसियत’ देखाइदिने उद्घोषसमेत गरे ।
‘तराईका नाममा राजनीति गरेर त्यहाँका जनतालाई शोषण गर्न पल्केका तत्वहरूलाई एउटा कुरा भन्न चाहन्छु,’ अभियान घोषणा गर्दै उनले भने, ‘उनीहरूले जितेको ११ सिट, एमालेले जितेको ४० सिट । हामी फागुन दोस्रो साता तराईमा मेची–महाकाली अभियान लिएर तराईमा जाँदै छौँ, अहिले त ड्रोन क्यामराले आकाशबाट खिच्दै छ, त्यतिवेला सेटलाइट आवश्यक पर्नेछ ।’ तराईका जनताको देशभक्तिलाई कमजोरीका रूपमा नलिन र अलमल्याउने खेती बन्द गर्न चेतावनी दिँदै ओलीले काठमाडौं जागिसकेकाले हिमाल, पहाड, तराई सबैतिर जनप्रदर्शनलाई व्यापक बनाइने बताए ।
३. लम्पसारवाद परास्त भएरै छाड्छ
सत्ता टिकाउन विदेशीसामु लम्पसार परेर राष्ट्रिय स्वाधीनतामाथि नै सौदाबाजी गर्ने खतरनाक प्रवृत्ति हाबी हुन खोजेको दाबी गर्दै ओलीले एमालेले परास्त गरेरै छाड्ने घोषणासमेत गरे । ‘राष्ट्रिय स्वाधीनता समाप्त पार्न खोज्ने, भौगोलिक अखण्डतामा चुनौती थप्ने, आत्मनिर्भरतातर्फ बढ्न खोजिरहेको मुलुकलाई रोक्नेहरूको लम्पसारवाद परास्त भएरै छाड्नेछ,’ ओलीले भने, ‘मलाई विश्वास छ, देशभक्त युवा र जनताको सहभागितामा लम्पसार मूर्दावाद भन्दै उठिरहेको आन्दोलनले लम्पसारवादलाई पराजित गरेरै छाड्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।