0 COMMENTS

 काठमाडौं, २१पुस काठमाण्डाै/ प्रमुख प्रतिपक्षी एमालेले सर्वोच्च अदालतको आदेशपछि संविधान संशोधन विधेयक अघि बढाउन नहुने बताएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको निर्णय पार्टीको पक्षमा भएको भन्दै अब सरकारले प्रस्ताव फिर्ता लिने अनुकूल मौका भएको बताए।
‘सर्वोच्चले हाम्रो पक्षमा निर्णय गरेको छ। सरकारले प्रस्ताव फिर्ता लिने अनुकूल मौका यही हो,’ अध्यक्ष ओलीले बिहीबार पार्टी कार्यालयमा पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै भने।
उनले संसदका सबै गतिविधिमा आफूहरुको अवरोध नरहेको भन्दै सरकारले निर्वाचन मिति तोक्नुपर्नेमा पनि जोड दिए। अब संसद अवरुद्ध गर्ने कि नगर्ने भन्ने विषयमा भने उनले स्पष्ट प्रतिक्रिया दिन चाहेनन्। संवैधानिक संकट आउने अवस्थाप्रति सचेत देखिएका ओलीले यस विषयमा भने, ‘विगतबाट हामीले पाठ सिक्न जरुरी छ। हिजो के भएको थियो, यो हामीले हेर्नुपर्छ। कामचलाउ सरकार भइहाल्छ भनेर हेलचेक्र्याँइ गर्न हुँदैन।’
उनले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर संविधानविपरित र भौगोलिक अवस्थामा खतरा पुग्ने खालको भएकोमा जोड दिए। ‘यो विषय छलफल गर्न लायकै छैन। यो नेपालीको प्रस्ताव होइन। यो दुई राष्ट्रियता निर्माण गरेर देशलाई संकटमा पार्ने प्रयास मात्र हो,’ उनले भने।
सरकारले पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई हटाउनु पनि असंवैधानिक भएको उनले टिप्पणी गरे। उनले भने, ‘उनलाई सरकारले सहयोग नै गरेन। बजेट पनि छुट्याएन र कर्मचारी पनि दिएन। यो सरकारका कारण भूकम्पपीडित अझै पनि पालमै बस्न बाध्य छन्।’सरकारले ज्ञवालीलाई हटाएर सरकारले नचाहिँदो काम गरेको आरोप पनि ओलीले लगाए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।