रन्जिता ढकाल,थापा, पाल्पा, १७ पौष/स्वतन्त्र पत्रकार सङ्घ पाल्पाको प्रथम जिल्ला अधिवेशन पौष १६ गते शनिबार तानसेनमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले आस्थाको आधारमा पत्रकारितामा भागवण्डा गरिनु गलत विधि भएको बताए । उनले दलीय आवद्धताले पत्रकार असुरक्षित हुने गरेको दावी गरे ।
‘हालसम्म जति पत्रकार मारिएका छन्, जति भौतिक आक्रमणमा परेका छन्, ती सबै प्रत्यक्ष राजनीतिक संलग्नताका कारण असुरक्षित भएका छन्’– अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष बाँस्तोलाले भने–‘पत्रकारको साझा धर्म निर्वाह र सुरक्षाका लागि उसको स्वतन्त्र अस्तित्व र व्यवहार अनिवार्य हुन्छ ।
कार्यक्रममा केन्द्रीय सदस्य कल्याण पन्तले ‘स्वतन्त्र, व्यवसायिक र मर्यादित पत्रकारिताको अभ्यासका लागि स्वतन्त्र पत्रकार सङ्घको स्थापना र विस्तार भइरहेको जानकारी दिए । नेपाल पत्रकार महासंघका पाल्पाका प्रतिनिधि कृष्ण पोखरेलले पत्रकारीताको मर्यादा र गरिमालाई आँच नपुग्नेगरी स्वतन्त्र पत्रकार सवैको साझा हितमा रहेर सहकार्य गर्नुपर्ने धारणा सहित शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत टंक पाण्डेले सञ्चारकर्मीले जिम्मेवारीपूर्ण तरिकाबाट सूचना सम्प्रेषण गर्न स्वतन्त्र हुनु जरुरी रहेको बताए ।
अधिवेशनमा शुभकामना व्यक्त गर्दै पाल्पाका प्रहरी निरीक्षक अवध किशोर ओझाले व्यक्तिगत रिसीवी र स्वार्थको आधारमा पत्रकारिता गर्नु गलत रहेको भन्दै सूचना सम्प्रेषणमा पत्रकारहरू निष्पक्ष र निर्भिक हुनुपर्ने बताए । स्वतन्त्रका रुपन्देही जिल्ला अध्यक्ष बाबुराम गैरेले स्वतन्त्र पत्रकार आम पार्टीको भएकोले सवैले साझा फोरमको रुपमा प्रयोग गर्नुपर्ने बताए । प्रेस युनियन अञ्चल संयोजक माधव अर्यालले पत्रकारहरू विचारबाट अलग नभइकन स्वतन्त्र ढंगले प्रस्तुत हुनुपर्ने धारणा राखे । उनले यथार्थ कुरा जनसमक्ष ल्याउने निर्भिक पत्रकारिताको खाँचो रहेको बताए ।
नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले पूर्वाग्रही ढंगको पत्रकारितालाई व्यवस्थापन गर्न स्वतन्त्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै सही कुरा प्रकाशमा ल्याउन नै पत्रकारलाई स्वतन्त्रता आवश्यक रहेको बताए । नागरिक समाजका जिल्ला अध्यक्ष पुष्करराज रेग्मीले स्वतन्त्र पत्रकारिताको अभ्यासका लागि पत्रकारहरू संगठीत हुनु राम्रो भएको बताए । कार्यक्रममा तानसेन नगरपालिकाका अधिकृत भरत आचार्य, शिक्षाविद् राजेश्वर उदय, क्यान महासंघ पाल्पाका उपाध्यक्ष महेश शर्मा लगायतले स्वतन्त्र पत्रकारिताको अभ्यास अनिवार्य आवश्यकता भएको बताए ।
अधिवेशन उद्घाटन स्वतन्त्रका पाल्पा संयोजक भोजराज भट्टराईको अध्यक्षता, रामराज ज्ञवालीको स्वागत र भविन्द्र गौतमको सञ्चालनमा चलेको थियो ।
यसैबीच स्वतन्त्र पत्रकार सङ्घ नेपाल पाल्पा जिल्ला शाखाको प्रथम अधिवेशनबाट परेवा पत्रिकाका सम्पादक भोजराज भट्टराई निर्वाचित भएका छन् । अधिवेशनले भट्टराईको अध्यक्षतामा एघार सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भविन्द्र गौतम, सचिवमा रामराज ज्ञवाली, कोषाध्यक्षमा प्रकाश न्यौपाने, सदस्यमा प्रेम लामिछाने, डोलबहादुर वि.क., कुसुम घिमिरे, सुमन सिंजाली, डेभिड पाण्डे, विष्णु पाण्डे र हरिबहादुर जिसी निर्वाचित भएका छन् । अधिवेशबाट जीवलाल सुवेदी, कमलबहादुर खत्री, नवराज ज्ञवाली, नवराज बस्याल र अम्बिका पाण्डे केन्द्रीय पाषद्मा चयन भएका छन् । यस्तैगरी अधिवेशनपछिको पहिलो बैठकले दुई सदस्य पछि थप गर्ने गरी राजेश्वर उदय, दिवाकर पाण्डे र हरिप्रसाद पोखरेल सहितको पाँच सदस्यीय सल्लाहकार समिति बनाएको छ । कार्यक्रममा नागरिक समाज पाल्पा अध्यक्ष पुष्करराज रेग्मीले निर्वाचन अधिकृतिको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यसमिति सदस्य सहित स्वतन्त्र पत्रकार संघ पाल्पाका विभिन्न मिडियामा आवद्ध २५ जना क्रियाशील सदस्यहरू आवद्ध छन् ।