0 COMMENTS

काठमाडौं,९ पुस / चीनले आफ्ना नागरिकहरूलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरूमार्फत आन्तरिक रूपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो ।

चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस (सीआईटीएस)ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी अपरेटरहरूलाई त्यस्तो जानकारी गराएको हो । काठमाडौं र चीनको चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापित हुनु एक दिनअघि यस्तो निर्देशन बाहिर आएको हो ।

चीन सरकारले भारतमा हुने तिब्बती धार्मिक नेता दलाई लामाको कार्यक्रमलाई ध्यान दिएर यस्तो सर्कुलर जारी गरेको हुनसक्ने आशंका गरिएको छ । तर चिनियाँ सरकारी पक्षले यस्तो एडभाइजरी बाहिर नआएको र भित्र केही भए जानकारी नभएको बताएका छन् । ‘गत वर्ष पनि चीनले छोटो समयका लागि यस्तै सर्कुलर जारी गरेको थियो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘कूटनीतिक पहलपछि त्यो समाधान भएको थियो । अहिले पनि त्यही स्तरमा कुरा हुन आवश्यक छ ।’

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीन सरकारले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सर्कुलर जारी गरेको आफूलाई जानकारी नभएको बताए । ‘यो विषय नेपालबाट हल्लाका रूपमा आएकाले मैले बुझदा त्यस्तो सर्कुलर जारी भएको पाएको छैन,’ राजदूत पौड्यालले टेलिफोनमा भने, ‘ट्राभल एडभाइजरी जारी गर्ने काम भने भएको छैन ।’

जारी गर्ने निकाय ‘पब्लिक सेक्युरिटी ब्युरो र टुरिज्म ब्युरो’ ले यस्तो नगरेको राजदूत पौड्याललाई जानकारी दिएका छन् । पर्यटन क्षेत्रको विकासका लागि आफूले प्रयास गरिरहेको राजदूत पौड्यालले बताए । उनले आफूले ट्राभल ब्लगर, टुर अपरेटर्स र एयरलाइन्ससँग तीन दिनदेखि लगातार बैठक गरिरहेको र त्यस्तो जानकारी नदिइएकाले ट्राभल एडभाइजरी नआएको हुनसक्ने उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।