0 COMMENTS

chaupadiपुस ४ । महिनाबारी हुँदा छाउपडी गोठमा सुतेकै अवस्थामा किशोरीले ज्यान गुमाएको एक महिना पुग्न नपाउँदै अछाममा अर्की किशोरीको छाउपडी गोठमै निसास्सिएर ज्यान गएको छ । महिला तथा बालबालिका कार्यालयले सेभ दी चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी निवारण परियोजनाअन्तर्गत एक वर्षअघि छाउपडी गोठमुक्त गाउँ घोषणा गरिएको गाज्राकै छाउपडी गोठमा किशोरीको मृत्यु भएको हो ।

महिनाबारी भएको बेला छाउपडी गोठमा बसेकी गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाले शनिबार राति गोठमै ज्यान गुमाइन् । महिनाबारी हुँदा एक्लै गोठमा सुतेकी रोशनी आइतबार बिहान मृत अवस्थामा भेटिएको परिवारले जानकारी दिएको छ । यसअघि तिमिल्सेन–७ की डम्बरा उपाध्यायले केही साताअघि छाउपडी गोठमै ज्यान गुमाएकी थिइन् ।

अघिल्लो दिन बेलुकी ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको मृतकका बुबा भरत तिरुवाले जानकारी दिए । ‘बेलुकी खाना खाएर राम्रैसँग सुतेकी हो, बिहान हेर्दा त मृत भेटिइन्’, बुबा भरतले भने्, ‘सुरुमा आमा गएर उठाउँदा नबोलेपछि मैले ढोका फुटाएको हुँ ।’

शनिबार स्कुल बिदाको दिन भएकाले रोशनीले दिनभर जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन् । स्थानीय राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत उनी महिनाबारी भएको तीन दिन भएको परिवारले जानकारी दिएको छ ।

घटनास्थल पुगेका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले घरदेखि २० फिट टाढा रहेको उक्त गोठ निकै साँघुरो रहेको र ढोकाबाहेक हावा छिर्ने अरू कुनै ठाउँ नहुँदा आगोको धुवाँले निसास्सिएर ज्यान गएको हुन सक्ने बताए । ‘बेलुकी सुत्दा आगो बालेर सुतेको र ढोकासमेत हावा नछिर्ने गरी लगाएकाले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने देखिन्छ,’ ढकालले भने, ‘गोठभित्र पूरै धुवाँको मुस्लो भएपछि अक्सिजन कमीका कारण उनको ज्यान गएको हुन सक्ने सम्भावना छ ।’

छाउपडी निवारण परियोजनाअन्तर्गत २०७२ असोज ९ गते गाज्रालाई छाउपडी गोठमुक्त घोषणा गरिएको थियो । छाउपडी गोठमुक्त घोषणा हुँदा पनि उक्त गोठ त्यहीं छ । त्यही गोठमा करिब एक साता पहिले महिनाबारी हुँदा बसेको अवस्थामा रोशनीकी आमासमेत धुवाँले निसास्सिएपछि मध्यरातमा निस्किएकी थिइन् ।

गाज्रा छाउपडी गोठमुक्त गाविस घोषणा भए पनि अधिकांश महिला महिनाबारी हुँदा गोठमै बस्छन् । देवीदेउता रिसाउने डरले महिला आफैं घरमा नबसेर गोठमा बस्ने गरेको प्रहरी निरीक्षक ढकालले बताए । रोशनीको शव आइतबार नै पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले एक महिनामा दुई महिलाको गोठमा ज्यान जानु दुःखद भएको बताए । हतारहतारमा गोठमुक्त अभियान चलाएर घोषणा गरिए पनि पछि त्यसको नियमित अनुगमन नहुँदा यस्तो समस्या देखापरेको उनले सुनाए ।

अछाममा पछिल्लो एक दशकमा डम्बरालगायत १० महिला तथा किशोरीले महिनाबारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाएका छन् । पाँच वर्षअघि पनि २० दिनको अवधिमा अछाममा दुई महिलाले गोठमै ज्यान गुमाएका थिए । रिडिकोट–४ की १५ वर्षीय शर्मिला भुलको छाउपडी गोठमै धुवाँले निसास्सिएर ज्यान गएको थियो भने त्यसअघि २०६८ माघ १९ मा ढकारी–४ की लक्ष्मी बुढाको गोठमै आगोले जलेर ज्यान गएको थियो ।

मानिस तथा जंगली जनावरको डरले ढोकाबाहेक अन्य कुनै पनि भाग खाली नराखेर बनाइने छाउपडी गोठमा जाडोयाममा आगो बाल्ने र सुत्दा आगो ननिभाएर सुत्नाले अधिकांशको ज्यान निसास्सिएर जाने गरेको छ । सुत्दा आगो निभाएर सुत्नुपर्छ भन्ने सामान्य जानकारीसमेत नराखेका कारणले बर्सेनि महिलाले गोठमा ज्यान गुमाइरहेका छन् । जिल्लाले पाँच वर्षीय छाउपडी प्रथा निवारण योजना निर्माण गरे पनि उक्त रणनीति कागजमै सीमित छ ।-अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।