0 COMMENTS

काठमाडौं, १ पुस / महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ लागू गर्न लागिएको हो ।

गत मंसिर २ गते भएको निर्णय अनुसार सरोकारवालासँगको छलफल पछि पुस १ गते शुक्रबारदेखि नियम कडाइका साथ लागू हुन लागेको हो । नयाँ प्रावधान अनुसार आजदेखि मालबाहक सवारी साधन बिहान ९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न पाउनेछैनन् । तर पानी र इन्धन बोक्से सवारीलाई भने रोकतोक हुनेछैन ।

पिक आवरमा देखिएको अत्याधिक सवारी चापलाई व्यवस्थापन गर्न ट्राफिकले यो प्रावधान लागू गर्न लागेको हो । नयाँ प्रावधान अनुसार माइक्रोबसले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउनेछैनन् । साथै अनावश्य सिट जोडिएको हुनुहुनेछैन । त्यस्तै लामो दूरीका बसहरु अवदेखि बसपार्कबाटै छुट्नुपर्ने प्रावधान बनाइएको छ

‘पिक आवर’मा मालबाहकलाई निषेध

शुक्रबारदेखि मालबाहक सवारीसाधान बिहान ९ देखि ११ र दिउँसो ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न पाउने छैनन् । राजधानीमा बढेको सवारीसाधनको चाप व्यवस्थापनका लागि यो प्रावधान कडाइका साथ लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी सविन प्रधानले जानकारी दिए । यद्यपि, पानी र इन्धन बोक्ने सवारीसाधनलाई भने यो नियम लागू हुनेछैन ।

९ देखि ११ र ४ देखि ६ बजेसम्म सवारीको अत्यधिक चाप हुने र जाम हुने भएकाले त्यसलाई कम गर्न यो प्रावधान लागू गर्न लागेको ट्राफिक प्रहरीले जनाएको छ । यसले जामको समस्या समाधन गर्न सहयोग पुग्ने ट्राफिक प्रहरी अधिकारीहरू बताउँछन् । सवारी नियमविपरीत प्रवेश गर्नेहरूलाई ट्राफिक प्रहरीले जरिवाना गर्नेछ ।

माइक्रोबसमा सिटअनुसार यात्रु

राजधानीमा विभिन्न रुटमा गुड्ने माइक्रोबसहरूले थप सिट जोड्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्ने गरेका छन् । शुक्रबारदेखि उनीहरूले सिट क्षमताभन्दा एकजना पनि यात्रु बढी राख्न पाउनेछैनन् । थपिएका सिटहरू पनि हटाउनुपर्नेछ । यसको कडाइका साथ अनुगमन हुने डिएसपी प्रधानले बताए ।

उक्त नियम उल्लंघन गर्ने मोइक्रोबसलाई पाँच हजार रुपैयाँ जरिवाना हुनेछ । सार्वजनिक सवारीलाई सुधार्ने प्रयत्नअन्तर्गत यो नियम कार्यान्वयनमा कडाइ गर्न थालिएको हो । माइक्रोबसहरूले थप सिट जोड्ने र यात्रुलाई उभाएरसमेत राख्ने गरेका छन्, जसका कारण दुर्घटना हुने गरेका छन् । ट्राफिक प्रहरीले केही महिनायता यो नियममा कडाइ गरी सयौँ माइक्रोलाई कारबाही गरिसकेको छ । शुक्रबारदेखि यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो ।

बसपार्कबाटै बस छुट्नुपर्ने

सिन्धुपाल्चोक जाने गाडीहरू साँखु, जोरपाटीलगायतका स्थानबाट छुट्ने गरेका छन् । शुक्रबारदेखि लामो दूरीका गाडीहरू बसपार्कबाटै छुट्नुपर्ने हुन्छ । विभागले बसपार्कबाहेक बाहिरबाट लामो दूरीका सवारी छुट्न नपाउने निर्णय गरेको छ । विगतमा त्यस्ता रुट परमिट दिइए पनि त्यसलाई रद्द गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।

विद्यालय बसबारे छलफल जारी

यातायात व्यवस्था विभागले बिहान ९ बजेभित्र स्कुल पुगिसक्नुपर्ने तथा दिउँसो ४ बजेभित्र विद्यार्थीलाई घरमा छाडेर गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको थियो । तर, त्यसलाई भने तत्काल कार्यान्वयनमा लगिएको छैन । स्कुल सञ्चालक तथा अभिभावकबाट विरोध भएपछि त्यसलाई कार्यान्वयनमा तत्काल नल्याइएको हो । यस विषयमा स्कुल सञ्चालक र अभिभावकका प्रतिनिधिहरूसँग शुक्रबार छलफल गर्न लागिएको ट्राफिक महाशाखाका डिएसपी प्रधानले बताए । उक्त नियम लागू भएमा थुप्रै विद्यालयको सेसनअनुसार समय नमिल्ने विद्यालय सञ्चालकहरूको भनाइ छ ।

त्यस्तै, विद्यार्थीलाई बिहानै विद्यालय पठाउनुपर्ने भन्दै अभिभावकहरूले असन्तुष्टि जनाएका छन् । तर, ९ बजे पहिले नै स्कुल पठाउने र ६ बजेभित्रै घरमा फर्काउँदा जाम नहुने भएकाले यसबाट सबै लाभान्वित हुने ट्राफिक प्रहरी अधिकारीहरूको भनाइ छ । राजधानीमा करिब आठ सय स्कुल बस छन् । त्यस्तै, विभागले चोकबाहेक अन्यत्र दायाँ मोड्न निषेध गर्ने निर्णय गरेको थियो । कतिपय सडकखण्डमा उक्त नियम अव्यावहारिक भएकाले त्यो पनि अध्ययनकै क्रममा रहेको ट्राफिक प्रहरी अधिकारीको भनाइ छ । आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।