0 COMMENTS

मंसिर २४, २०७३- अखिल नेपाल फुटबल संघ (एन्फा) को चरम लापरबाहीका कारण नेपाली फुटबलको शीर्षस्थ क्लब थ्री–स्टार एएफसी कपको दोस्रो राउन्ड खेल्न वञ्चित हुने भएको छ।

थ्री–स्टार गत अगस्टमा छनोट प्लेअफ जितेर एएफसी कपको दोस्रो चरणमा छानिएको थियो। टिम ४ अंकसहित समूह ‘बी’ को विजेता बनेको थियो। थ्री–स्टारको अंक आयोजक मंगोलियाली इर्चिम एफसीको भन्दा १ ले बढी हो। तर एएफसीले बुधबार सार्वजनिक गरेको दोस्रो चरणमा सहभागी मुलुकको सूचीमा नेपाल (थ्री–स्टार) परेन। एएफसीले डिसेम्बर १३ मा खेलतालिका तय गर्ने भएको छ।

एएफसीको वेबसाइटमा प्रकाशित सूचीअनुसार नेपालको ठाउँमा मंगोलिया (इर्चिम एफसी) परेको छ। प्रतियोगिताको दोस्रो चरण जनवरी २४ देखि फेबु्रअरी ७ सम्म हुनेछ। अन्तिम चरणचाहिँ फेबु्रअरी २० देखि नोभेम्बर ४ सम्म हुनेछ। जसको खेल स्थलबारे अझै निर्णय भइसकेको छैन। एएफसीले प्रतियोगिताका लागि टिम दर्ता गर्न एन्फालाई बारम्बार स्मरण गराएको थियो। तर ३ पटकको लिखित पत्राचारको जवाफ नदिएपछि एएफसीले डिसेम्बर ६ मा ‘तपाईंको सम्बन्धन प्राप्त क्लब (थ्री–स्टार क्लब) लाई प्रतियोगितामा सामेल गराउन असमर्थ’ भन्दै एन्फालाई जानकारी पठाएको थियो। एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले यस विषयमा केही भन्न चाहेनन्। उनले यति मात्र भने, ‘हाम्रा अध्यक्ष (नरेन्द्र श्रेष्ठ) ले यसबारे एएफसीसँग कुरा गर्नुभएको छ। उहाँ स्वदेश नफर्केसम्म म केही भन्न सक्दिनँ।’ श्रेष्ठ सिंगापुरमा फिफा समिटमा सहभागी भई शुक्रबार स्वदेश फर्कंदै छन्। ललितपुरको फुटबल टिमले यस घटनाक्रमले स्तब्ध बनाएको जनाएको छ। राष्ट्रिय लिग विजेता थ्री–स्टारले मंगोलियामा सम्पन्न छनोट खेलका लागि मात्र तयारीमा ६० लाख रुपैयाँभन्दा बढी खर्चेको थियो। ‘पैसाभन्दा पनि एउटा क्लबका रूपमा हामीले विश्वसनीयता गुमाएका छौं। मेरुदण्डरूपी प्रशंसक र प्रयोजकहरूको चित्त बुझाउने कुनै जायज कारण हामीसँग रहेन,’ क्लबका महासचिव सञ्जीव शिल्पकारले भने।

शिल्पकारले यस विषयमा सत्यताको खोजी गर्न एन्फालाई लिखित पत्र लेखी पठाएको जनाए। मंगोलिया जानु एक महिनाअघिदेखि टिमलाई तयारीमा जुटाएको थ्री–स्टारमाथि यो अनपेक्षित अवस्थाका कारण ठूलो आर्थिक भार पर्ने देखिन्छ। जनवरीमा हुने एएफसी कप दोस्रो चरणका कारण थ्री–स्टारका सबै खेलाडीले तलब खाँदै आएका थिए। जबकि घरेलु लिग नभइरहेको अवस्थामा मुलुकका अन्य शीर्ष श्रेणीका क्लबले चाहिँ टिम नै जुटाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।