0 COMMENTS

imagesकाठमाडौं, मंसिर २४ – झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ । रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ । पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा सारिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिनुभयो । अहिलेसम्ममा तीन हजार माछा सारिसकिएको छ । अब एक हजार माछा सार्न बाँकी रहेको अनुमान गरिएको छ । सबै माछा स्थानान्तरण गरिसकिएपछि केही दिनमा हिलो फाल्ने काम सुरु हुन्छ । २०७२ साल वैशाख १२ को भूकम्पका कारण पोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिर र वरपर समेत क्षति पुगेको थियो ।
गत वैशाख दोस्रो सातादेखि सुरु गरिएको पुनर्निर्माणको आगामी भदौ १३ गते सकिने बताइएको छ । बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काम रोक्न निर्देशन दिएको थियो । दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् । प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो ।
पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहरा राखिने महानगरपालिकाको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।