0 COMMENTS

sujalमंसिर १९, २०७३- मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिममा सहभागी भई योगदान गर्ने दुई खेलाडीलाई आइतबार गृहजिल्ला धनकुटामा बृहत् नागरिक अभिनन्दन गरिएको छ ।

निर्णायक गोल गर्ने सुजल श्रेष्ठसहित उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी किरण चेम्जोङलाई अभिनन्दन गरिएको हो । सयौंको संख्यामा उपस्थित स्थानीयवासीले दुवै खेलाडीलाई सिंगारिएको सवारी साधनमा राखेर सदरमुकामस्थित बसपार्कबाट बाजागाजा तथा झाँकीसहित ऱ्यालीले बजार परिक्रमा गराएका थिए ।
यसैगरी किरण सुजल अभिन्दन मुल आयोजक समितिका तर्फबाट खेलाडीलाई जनही ७५ हजार रुपैयाँसहित अभिनन्दन पत्र प्रदान गरिएको छ । घर घरबाट स्थानीयले फूलमाला र अबिरले स्वागत गरेका थिए । जिल्लामा पहिलो पटक खेलाडीलाई यति बृहत् सम्मान र अभिनन्दन गरिएको हो । हुलाकटोल, बीचबजार, सिरानबजार, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै परिक्रमापछि तल्लो टुँडिखेलमा अभिनन्दन गरिएको थियो ।

धनकुटावासी सुजल र किरणले खेलकुदको माध्यमले समग्र राष्ट्रका लागि गरिएको योगदानको कदरस्वरुप नागरिक अभिनन्दन गरिएको मूल आयोजक समितिका कार्यवाहक संयोजक शम्भु प्रधानले जानकारी दिए । राष्ट्रको शानका खातिर आफूहरुले गरेको योगदानको मूल्यांकन गरी अभिनन्दन गरिएको भन्दै दुवै खेलाडीले खुसी व्यक्त गरे ।

अभिनन्दन कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, खेलाडी, प्रशासक, सञ्चारकर्मी, विद्यार्थी, शिक्षक, अभिनन्दित व्यक्तिका परिवारजन लगायत स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।