काठमाडौं, १६ पुस । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच संविधान संशोधन विधेयकका विषयमा संसद्मा मुठभेड हुने संकेत देखिएको छ । आउँदो सोमबार बस्ने व्यवस्थापिका संसद्को बैठकमा संशोधन विधेयकका विषयमा मुठभेड हुने संकेत देखिएको हो ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बाबजुद पनि संशोधन विधेयक सदनमा टेबल गर्ने बताएका छन् । सत्ता घटक दल जसरी पनि विधेयक टेबल गर्ने निष्कर्षमा पुगेको र विपक्षी गठबन्धन जसरी पनि रोक्ने पक्षमा रहेकाले सदनमा तनाव र मुठभेडको संकेत देखिएको हो ।
सत्तारूढ नेताका अनुसार विपक्षीले सदन अवरुद्ध गरेलगत्तै कांग्रेस र माओवादी सांसदले पनि विधेयक टेबुल गर्न माग गर्दै नाराबाजी गर्ने तयारी गरेका छन् । सत्तारूढ कांग्रेसले संस्थागत निर्णय नै गरेर बैठक निरन्तर राख्न र प्रक्रिया अघि बढाउन सभामुख र सरकारलाई आग्रह गरिसकेको छ । सभामुख ओनसरी घर्तीमगरले पनि बिहीबार नै दलहरूलाई सहमतिका लागि तीन दिनको अल्टिमेटम दिँदै सहमति नभए प्रक्रियामा लगेर टुंग्याउने बताइसकेकी छन् । सदन सुचारु हुने अवस्था नबने दिनै दुई/तीनओटा बैठकसमेत राखेर दबाब दिने उनको तयारी छ ।
सत्तारूढ कांग्रेस र मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक जसरी भए पनि सोमबारको संसद् बैठकमा प्रस्तुत गर्ने सहमति भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध जारी रहे पनि संशोधन विधेयक संसद्मा प्रस्तुत गर्ने निर्णय भएको बैठकमा सहभागी कांग्रेस नेता गोपालमान श्रेष्ठले बताए ।
बैठकमा मधेसी मोर्चाका नेताहरूले संशोधन प्रस्ताव अगाडि बढाउने भए मोर्चा निर्वाचनका लागि तयार हुने बताएको जानकारी दिए । जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधन विधेयक जसरी पनि संसद्मा प्रस्तुत गर्ने बताएको श्रेष्ठले बताए ।
‘एमालेलाई सहमतिमा ल्याउन प्रयास गर्छौं, सहमतिकै लागि सरकारले यतिका दिनसम्म कुरेर बसेको हो,’ श्रेष्ठले भने, ‘एमालेसँग सहमति नभए प्रक्रियामा भए पनि हामी अगाडि बढ्छौं ।’संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दलको सहमति होस् भनेरै सरकारले यतिका समय कुरेको बताउँदै उनले सहमति नभए सरकारले विधेयक अगाडि बढाउने सहमति भएको बताएका छन् ।
बैठकमा सहभागी संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले संशोधनको विरोधमा रहेको एमालेको सके सहमतिमै नभए उसको विरोधका बाबजुद पनि संशोधन विधेयक प्रस्तुत गरिने सहमति भएको बताएका छन् ।
यता सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले संसद्लाई कसैले पनि बन्धक बनाएर राख्न नपाउने बताइन् । संसद् अवरुद्ध गर्दै आएको एमालेसहितका दलसँग सहमतिको प्रयास जारी राख्दै संशोधन विधेयक सदनमा प्रस्तुत गरिने उनको भनाइ छ ।आजको राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्