0 COMMENTS

काठमाण्डाै १४,पुस/  भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा सकिन २ दिनमात्र बाँकी रहँदा भारतले नेपाल र भुटानमा रहेका पुराना नोट त्यसपछि साट्न विशेष व्यवस्था गर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा गरेको घोषणाअनुसार शुक्रबारदेखि पुराना नोट साट्न पाइने छैन । तर भारत सरकारले डिसेम्बर ३० देखि रिजर्भ बैंक अफ इन्डियाले तोकेका केही ठाउँमा मार्च ३१ सम्म नोट जम्मा गर्न सकिने जनाएको छ । त्यस पछाडि पनि पुराना नोट राखे कारवाही गर्ने कानुन भारतले बुधबार मात्र सार्वजनिक गरेको छ ।

भारतीय अधिकारीहरूका अनुसार समय सीमा सकिए पनि नेपाल र भुटानको हकमा भने केही विशेष व्यवस्थाको तयारी भइरहेको छ । यस अगाडि नेपालले पुराना भारु साट्न गरेको आग्रहमा भारतीय अधिकारीहरूले आफूहरूलाई पहिला आन्तरिक समस्या मिलाउनलाई समय दिन आग्रह गरेका थिए । भारतीय अधिकारीहरूले नेपाली पक्षलाई त्यो आफूहरूले समाधान गर्ने विषय भन्दै धेरै चिन्ता नगर्न भन्ने गरेका छन् ।

यस अगाडि नेपाल राष्ट्र बैंकको एक टोली भारतीय पक्षसँग कुराकानी गर्न आउने तयारी भएको थियो । तर, भारतीय पक्षले आफ्नो सरकारले नोट साट्ने व्यवस्था मिलाउँदै गरेको जनाएर नेपालको टोली तत्काल आउन आवश्यक नभएको बताएको थियो । स्रोतका अनुसार भारत सरकारले नेपालमा रहेका भारु साट्ने व्यवस्था मिलाउन एक टोली पठाउनेछ । नेपालले भने यस अगाडि नै नोट साट्ने प्रबन्धका लागि एउटा सफ्टवेयर निर्माण गरिसकेको छ । स्रोतका अनुसार सम्भवतस् जनवरी पहिलो साता भारतले भारु साट्ने प्रयोजनका लागि टोली नेपाल पठाउनेछ ।

भारतीय एक अधिकारीले नेपाली नागरिकसँग रहेका ५०० र १००० को नोट बैंकमार्फत साट्ने व्यवस्था मिलाउन केही समय दिइने बताए । उनका अनुसार नगदमा साट्नेभन्दा पनि नेपालीसँग भएका भारु बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिनेछ, जसका लागि बैंक खाता आवश्यक पर्नेछ ।

नेपालले आफ्ना नागरिकसँग भएको भारु कम्तीमा २५ हजारसम्म साटिदिन आग्रह गरेको छ, तर भारत यसमा सहमत हुने हो अथवा होइन भन्ने यकिन छैन । नेपाल सरकारले पुराना नोट साट्न कम्तीमा १० दिनको समय आवश्यक पर्ने जानकारी भारतीय पक्षलाई गराएको छ ।- कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।