काठमाडौं१२ मंङ्सीर/प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरु साझा बस चढेर सिंहदवार गएका छन् ।साझाले ल्याएको नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड पुल्चोक पुगेका थिए । बस सेवाको उद्घाटनपछि प्रचण्ड मन्त्री र सचिवहरुसँगै साझा बस चढेर सिंहदरवार गएका छन् ।
साझा यातायातले आइतबारदेखि नयाँ ३० वटा बस संचालनमा ल्याएको छ । आफ्नो कार्यालयबाट संचालनमा ल्याइएका ती बसको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल पुल्चोक पुगेका थिए । त्यहीँबाट उनीहरु साझा बस चढेर सिंहदरवार गएका हुन्।
काठमाडौं महानगरपालिकाको सहयोगमा साझाले अपांगमैत्री बस सञ्चालनमा ल्याएको हो। महानगरपालिकाले सर्वसाधारणको हितमा भन्दै साझामा १० करोड रुपैयाँ शेयर लगानी गरेको छ। साझाका बसका लागि उपत्यकामा ४ वटा रुट तय गरिएको छ। थपिएका बस चल्ने रुट एउटा नयाँ हो भने बाँकी पुरानै रुटमा चल्नेछन्।
यसअघि सञ्चालित बसभन्दा थपिएका बस बढी सुविधायुक्त छन्। बसमा दुई वटा ह्विलचेयर अटाउने ठाउँ रहेको साझाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए। उनका अनुसार बसभित्र ह्विलचेयर अड्याएर सिटबेल्ट बाँधेर बस्न सकिन्छ। भेन्टिलेसनयुक्त बसमा मोबाइल चार्ज गर्ने सुविधा समेत छ। बसमा चालक सिटसहित ४१ सिट छन्। ११ मिटर लामो बसमा ह्यांगर समातेर उभिएर पनि यात्रा गर्न सकिने साझाले बतायो।