0 COMMENTS

मंसिर ११, २०७३- नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु रामदेवले शनिबार दिउँसो सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पूजा गरेका छन् । आचार्य बालकृष्णसहित हेलिकप्टरमा आएका रामदेवले छिन्नमस्ता भगवती मन्दिरमा पूजा गर्नुका साथै मन्दिर परिसरमा उपस्थित ठुलो भिडलाई योग सम्बन्धी प्रवचन दिएका थिए ।

दैनिक सयौं पशुको बली दिइने छिन्नमस्ता भगवती मन्दिरलाई बली मुक्त क्षेत्र बनाउन रामदेवले आग्रह गरे । उनले पशु बलीभन्दा आफू भित्र रहेको अहंकारलाई बली दिन आग्रह गरे ।

बिहान साढे ११ बजेको निर्धारित समयभन्दा झण्डै अढाई घण्टा ढिलो आएका रामदेवलाई स्वागत गर्न सयौंको संख्याका सप्तरी जिल्लाका विभिन्न गाउँबाट सर्वसाधारण ओइरिएका थिए भने सिमावर्ती भारतीय क्षेत्रबाट पनि ठुलो संख्यामा उनका अनुयायीहरु आएका थिए ।

एसपीद्वारा नेपाली पत्रकारलाई दुर्व्यवहार
यसैबीच योगगुरु रामदेवको कार्यक्रमको समाचार संकलनका लागि आएको नेपाली पत्रकारलाई एकदिन अघि मात्र जिल्लामा सरुवा भई आएका प्रहरी उपरिक्षक दिवेश लोहनीले हातपात गर्दै दुर्व्यवहार गरेका छन् ।

बाबा रामदेव मन्दिर परिसरमा पुग्दा उपरिक्षक लोहनीले एक दर्जनको संख्यामा रहेका भारतीय पत्रकारलाई बिना कुनै रोकटोक योगगुरु रामदेवसँगै मन्दिर प्रवेश गराएका थिए । तर योगगुरु रामदेवको फोटो खिच्न सदरमुकाम राजविराजबाट आएका स्थानीय नेपाली संचारकर्मीलाई उपरिक्षक लोहनीले आफैं हातपात र दुर्व्यवहार गरेका थिए ।

उपरिक्षक लोहनीले नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य चन्दन यादवलाई बुट र मुड्कीले हान्दै गाली गरेका थिए । यस्तै क्यामरासहित उपस्थित अन्य राष्ट्रिय र स्थानीय संचारमाध्यममा कार्यरत नेपाली पत्रकारलाई उनले अपशब्द भन्दै दुर्व्यवहार गरेका थिए ।

‘एसपी लोहनीको क्रियाकलाप हेर्दा अक्कवक्क भइयो,’ नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवले भने, ‘जिल्लामा आएको पहिलो दिन पत्रकार भनेर थाह हुँदाहुँदै आफैंले बुट र मुड्कीले हान्दै अपशब्द प्रयोग गर्नुले उनमा प्रेस स्वतन्त्रता विरोधी मानसिकता रहेको प्रष्ट भएको छ ।’

यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीले शनिबार साँझ विज्ञप्ती जारी गर्दै संचारकर्मी उपर एसपी लोहनीले गरेको हातपातको विरोध गरेको छ । महासंघले एसपी लोहनीको तत्काल सरुवा गर्नुपर्ने माग गर्दै, माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।कान्तिपुर 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।