0 COMMENTS
ramprasad
रामप्रसाद पन्त

म त्यस दिन लैनचौरबाट जमल हुँदै घण्टाघरतिर जाँदै थिएँ, नारायणहिटी सङ्ग्रहालयको पश्चिमी पर्खालको बाहिरपट्टि उभिएका रुखका फेदहरु शौचालयमा परिणत भएका कारण दुर्गन्ध सहेर हिँड्न मलाई गाह्रो महसुस भइरहेको थियो । रुमालले नाक थुनेर हिँड्दै थिएँ र सोच्दै थिएँ— हामी सभ्य कहिले हुन्छौँ ? हाम्रो संस्कार कहिले बदलिन्छ ?
ठाउँमा ठाउँमा पर्खालको भित्तामा भगवान्का फोटो भएका टायलहरु पनि टाँसिएका थिए । धर्मभीरुहरुले ती टायलहरुलाई त फोहो¥याएका थिएनन् तर अजङगका ती रुखहरुको काण्डलाई भने मलमूत्रले नुहाइदिएका थिए । म त्यो सबै फोहोर छल्दै राहदानी महाशाखाको गेटनेर पुगेँ ।
युवाहरुको महासागर थियो नारायणहिटी सङ्ग्रहालयको त्यो पश्चिमी गेटमा । फुटपाथको भीड हटाउन र युवाहरुलाई व्यवस्थित रुपले लाइनमा लगाउन पुलिसलाई हम्मे हम्मे परिरहेको थियो । फुटपाथ छिचोल्न नसकेर म पिच सडकमा ओर्लेर हिँड्दै थिएँ । मजस्तै एक पुरुष र एक महिला मेरै अगाडि हिँडिरहेका थिए । उनीहरु बोलेको मैले स्पष्ट सुनिरहेको थिएँ ।
महिला भन्दै थिइन् — ‘अहो ! के विधि भीड हो यो राहदानी लिनेहरुको ? कति जान्छन् विदेश नेपालीहरु ? यही तरिकाले ओइरो लाग्ने हो भने त के बाँकी रहलान् र तन्नेरीहरु !’
पुरुषले भने — ‘यसरी ओइरिएका छन् खाडीतिर र त सहरमा काम खोज्नेको मारामार छ । यसरी नगएको भए त अहिलेसम्म नेपालमा मान्छेले मान्छे खाने अवस्था आइसक्थ्यो ।’
बडो मार्मिक कुरा ग¥यो त्यस बटुवाले । मन मुटु छोयो मेरो त्यस वाक्यले । म गम्भीर चिन्तनमा परेँ । हो, वास्तवमा दैनिक दुईहजार बाइस सयका दरले युवा जनशक्ति खाडीमुलुकतिर ओइरो नलाग्ने हो भने साँच्चिकै सहरको स्थिति कति भयावह हुँदो हो ?
मैले बिहान रेडियोले भनेको कुरा पनि सम्झिएँ— ‘गत महिनामा एक लाख राहदान जारी भयो ।’ रेडियोले भनेको यो सङ्ख्यामध्ये कति अध्ययनका लागि गए होलान्, कति सरकारी वा व्यापारिक प्रयोजनका लागि पनि गए होलान् ! कति पर्यटकको रुपमा त कति कला, साहित्य, खेलकुद आदि विविध प्रयोजनका लागि पनि गए होलान् ! तर अत्यधिक रुपमा जति गए, ती मजदुर, बहादुर वा गोर्खा बन्नका लागि गए ।
वास्तवमा नेपालबाट पानी र जवानी (युवा) यसरी बगिरहेको छ कि खाडी मुलुकतिर नेपाल दिन प्रतिदिन युवाविहीन, शक्तिविहीन हुँदै गइरहेको छ । नेपालको अवस्था झन् जर्जर र उजाड बनिरहेको छ ।
सोच्दै थिएँ, म जमल चोकबाट मोडिएर घण्टाघरतिर लागिसकेँछु । कुनै मानिस मलाई धक्का दिँदै बेतोडका साथ पछिल्तिर भागेपछि पो झल्यास्स भएँ । चोर ! चोर !! भनेर चिच्याएको आवाज आउँदै थियो अघिल्तिरबाट । म आवाज आएतिरै अगाडि बढेँ । ‘मेरो पैसा चोरेर भाग्यो’ भन्दै एउटा अपाङ्ग मगन्ते कराइरहेको थियो ।
त्यो बाटो हिँड्दा मैले त्यस मगन्तेलाई देख्ने गर्थेँ । उसको माग्ने थलो त्यही जमल क्षेत्र थियो र प्रायः एउटै ठाउँ । उसले फोहोर पानी बगिरहेको नालीलाई छातीमुनि पारेर नालीको वारी र पारी चार हातखुट्टाले टेकेर पालैपालो गरी हात थापिरहेको हुन्थ्यो र उसको अगाडि एउटा थाली पनि राखिएको हुन्थ्यो । उसका हात बलिया थिए तर खुट्टा लुला थिए । ऊ हातको भरमा घस्रिएर हिँड्थ्यो । माग्नका लागि उसले आफ्नो शरीरलाई कति कष्ट दिइरहेको थियो ! म उसको दशा देखेर दिक्दार हुन्थेँ ।
आज त्यही माग्ने पैसा चोरियो भनेर कराइरहेको छ । घोर आश्चर्य मान्दै म उसको नजिकै गएर सोधेँ— ‘कुरा के हो ? मलाई प्रस्ट प्रस्ट भन त !’
उसले भन्यो — ‘हजुर ! मेरो दिनभरको कमाई हातैबाट थुतेर भाग्यो एउटा केटो ।’
म झन् ठूलो आश्चर्यमा परेँ ।
तबसम्म आठ÷दश जना मानिस घेरा हाल्न आइपुगेका थिए मलाई । कोही भन्दै थिए— त्यो आवारा दुव्र्यसनी हो । नशालु पदार्थ सेवन गर्ने तिनीहरुको ग्याङ नै छ एउटा । आज पैसा भएन होला ! तान्न पाएन होला र बिचरा माग्नेको पैसा टिपेर कुद्यो होला !
मैले सोधेँ — ‘कति जति पैसा लग्यो होला त्यसले ?’
उसले भन्यो — ‘एक सयभन्दा बढी नै थियो हजुर ।’
मैले एक सय पचास रुपैयाँ उसको हातमा हालिदिएँ र भनेँ— ‘अबदेखि यति धेरै पैसा हातमा लिएर नबस्नू ! खल्तीमा राख्नू ।’
उसले कृतज्ञताको नजर फ्याँक्यो मेरो अनुहारमा र एउटा हात निधारमा राखेर शिर निहुँ¥यायो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।