0 COMMENTS

copyध्रुव बीसी,अछाम, ४ मंसिर,तिमिल्सेना–७ अछामकी डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएको छ । महिनावारी भएको पाँचौं दिनको राति २१ वर्षीया डम्मरा छउगोठभित्र मृत अवस्थामा भेटिएकी हुन् । शनिबार अबेरसम्म पनि नउठेपछि घरका अन्य सदस्य उठाउन पुग्दा छाउगोठभित्रै घोप्टो परेको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए ।

उनी घरबाट ४० फिटको दुरीमा रहेको छाउगोठमा महिनावारी भएको पहिलो दिनदेखि नै एक्लै बस्दै आएकी थिइन् । मृतक उपाध्यायको नाकबाट रगत बगेको तर अन्य कुनै पनि चोटपटक भने नदेखिएको प्रहरी निरीक्षक ढकालले बताए । ‘अत्यधिक पेट दुखेर घोप्टो परेको हुनुपर्छ,’ ढकालले भने, ‘त्यसैको पीडाले पनि मृत्यु भएको हुनुपर्छ ।’

शुक्रबार राति स्वस्थ अवस्थामा सुतेकी उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि सोको पुष्टि भइसकेको छैन । शनिबार नै उनको शव जिल्ला अस्पताल मंगलसेनमा पोस्टमार्टम गरिएको छ । मृतकका श्रीमान् यज्ञराज उपाध्याय नोकरीका लागि भारतमा छन् ।

अछाममा मात्र १० वर्षको अवधिमा छाउगोठमा बसेका बेला सर्पले टोकेर, निसास्सिएर र आगोले पोलेर नौजना महिलाको मृत्यु भइसकेको छ ।

अछाममा महिनावारी भएको सात दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने चलन छ । महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने अवस्था अन्त्यका लागि विभिन्न क्षेत्रबाट प्रयास भए पनि यो चलन अझै हटिसकेको छैन ।

अछाममा २० गाविस तथा तीन नगरपालिकाका गरी १८ ओटा वडालाई छाउपडी गोठमुक्त क्षेत्र घोषणा गरिएको भए पनि अन्य क्षेत्रमा यो समस्या यथावत् छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले अछामको तिमिल्सेना गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीया महिलाको ज्यान गएको घटनाप्रति चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री सचिवालयले शनिबार अछामका प्रमुख जिल्ला अधिकारी कुशलराज शर्मासँग टेलिफोन गरी घटनाबारे चासो लिएको हो ।

सचिवालयले छाउपडी प्रथाजस्तो कुरीतिको अन्त्यका लागि यथाशीघ्र सरोकारवालाहरूको बैठक बोलाएर जनचेतना अभियान सञ्चालन गर्न र सामाजिक क्षेत्रका क्रियाशील संघसंस्थालाई सेमिनार र गोष्ठीमा मात्रै रकम खर्च गर्ने प्रवृत्तिको अन्त्य गरी जनचेतना जगाउने कार्यमा लाग्ने वातावरण बनाउन निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्रीको चासोपछि प्रमुख जिल्ला अधिकारी शर्माले घटनाको यथार्थ बुझेर आवश्यक जानकारी गराउने बताएका थिए ।राजधानी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।