0 COMMENTS

 मंसिर ३,मंङ्सीर/निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म पनि अख्तियार प्रमुखकै रूपमा मान्दै आएको छ । अख्तियारको वेबसाइटमा पनि प्रमुख आयुक्तकै रूपमा चित्रण गरिएको छ । संसद्मा महाअभियोग प्रस्ताव दर्ता भइसकेको अवस्थामा कुनै पनि संवैधानिक निकायको प्रमुख स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ ।

सरकारले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि अख्तियारकै आयुक्त दीप बस्न्यातलाई कार्यवाहक प्रमुख आयुक्त बनाएको थियो । महाअभियोग प्रस्ताव पेस भएको महिना दिन बितिसक्दा पनि अख्तियारको वेबसाइट र पेजमा कार्की नै प्रमुख आयुक्त रहेको उल्लेख छ । लिखित जवाफ लिएर बुधबार सर्वोच्च पुगेका कार्कीले आफूलाई बहालवाला प्रमुख आयुक्तकै रूपमा प्रस्तुत गरेका थिए ।

‘कानुनी व्याख्या जे गरिए पनि अभियोग पुष्टि भएको छैन, उहाँलाई पदबाट हटाइएको पनि होइन, उहाँलाई कामकाज नगर्न बन्देज मात्र गरिएको हो’ अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले भने ‘अख्तियार प्रमुख चाहिँ उहाँ नै हो ।’ त्यसैले वेबसाइट र फेसबुक पेजबाट निलम्बित कार्कीलाई नहटाइएको सहायक प्रवक्ता रिजालले बताए ।

अख्तियारको वेबसाइटमा कार्यवाहक प्रमुख आयुक्त बस्न्यात अहिले पनि आयुक्त मात्र रहेका छन् । उता संसद्मा महाअभियोग पेस भएपछि कारबाहीबाट जोगिनका लागि कार्की शक्तिकेन्द्र धाइरहेका स्रोतको भनाइ छ ।

कार्कीलाई बचाउन नेपाली कांग्रेसका विवादास्पद सांसद अमरेशकुमार सिंहले विभिन्न मधेसवादी दलका नेता तथा कांग्रेस, एमाले र माओवादीकै नेतासँग लविङ गरिरहेका छन् । निलम्बित कार्की अझै पनि सरकारले उपलब्ध गराएको सरकारी निवासमै बस्दै आएका छन् । अख्यितारका कर्मचारीबीच गुटबन्दी कार्की माथिको काराबाहीको विषयलाई लिएर अख्यियारका कर्मचारीहबीच नै गुटबन्दी सुरु भएको छ । ‘एउटा गुट मरिहत्ते हालेर कार्यवाहक प्रमुख आयुक्त बस्न्यातको काम कारबाहीविरुद्ध उत्रिएको छ’ स्रोतले भन्यो, त्यस्तै, अर्को कर्मचारी समूह अहिले पनि निलम्बित कार्कीलाई बचाउन ज्यान फालेर लागेको छ । कार्की निलम्वनमा रहेका बेला कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले कार्कीनिकट अकुत सम्पत्ति थुपार्ने करिब दुई दर्जन सरकारी कर्मचारीमाथि छानबिन थालेको सार्वजनिक भयो । अख्तियारको सोमबार बसेको भनिएको बैठकले उक्त निर्णय गरेको बताइएको छ । तर, अख्तियारका प्रवक्ता गणेशराज कार्कीले भने अख्तियारको पछिल्लो निर्णय र कारबाहीबारे अनभिज्ञता प्रकट गरे । सचिवद्वय अर्जुनबहादुर कार्की, गजेन्द्र ठाकुर, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा र एआइजी वीरेन्द्रबाबु श्रेष्ठलगायत दुई दर्जन कर्मचारीमाथि छानबिन थालिएको खबर सार्वजनिक भएको थियो ।

नियुक्तिको प्रश्न उठाउदै रिट
काठमाडौं, (कस) 

सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार आयुक्तको नियुक्ति संविधानले तोकेको योग्यतानुसार नभएको भन्दै रिट निवेदन दायर भएको छ । अधिवक्ता दक्षबहादुर क्षेत्रीले आयोगका आयुक्त दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी र सावित्री थापा गुरुङको नियुक्ति कानुनसम्मत नभएको भन्दै बुधवार सर्वोच्चमा निवेदन दायर गरेका हुन । रिट निवेदनमा संविधानले तोकेको कानुन, राजस्व, लेखा सङ्कायमा २० वर्षको योग्यता हुनुपर्ने उल्लेख भएको तर आयोगका चार आयुक्तमा सो योग्यता नभएको जिकिर गरिएको छ । आयोगका निलम्बित प्रमुख आयुक्तविरुद्ध नियुक्तिकै विषयलाई लिएर दिइएको मुद्दासँगै अदालतमा बुधबार अरु चार जनाको पनि नियुक्तिका विषयमा पनि प्रश्न उठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।