0 COMMENTS

satyawatimalaपाल्पा, २८ कात्तिक । पाल्पाको कोलडाँडा गाविसको सत्यवती मन्दिरमा ‘सत्यवती धार्मिक मेला’ सुरु भएको छ । पहाडको हराभरा वनभित्र फैलिएको सुन्दर सत्यवती तालभित्र रहेको सो मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्दछ ।

सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातको समयमा मन्दिरमा पूजा सकेर ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन अझै पनि रहेको स्थानीयवासीको भनाइ छ ।

शनिबारदेखि सुरु भएको धार्मिक मेलामा आजसम्म दशहजारभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गरेको अनुमान गरिएको छ । मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतदेखि आउने गरेको मन्दिरका अध्यक्ष सुनवीर गाहाले बताउनुभयो ।

मङ्गलबारसम्म सञ्चालन हुने धार्मिक मेलामा पाल्पा, गुल्मी, रुपन्देही तथा नेपालका सीमाक्षेत्र गोरखपुर, सुनौली, विहारलगायतका स्थानबाट समेत भक्तजन आउने गर्दछन् । तालभित्र मन्दिर रहेकाले भक्तजन उत्साहका साथ त्यहाँ पुग्ने गर्दछन् ।

बोका, परेवा लगायतका पशु तथा पंक्षीको भाकलसहित पूजा गर्न आज पनि निकै भीड लागेको छ । भिड बढेपछि मेला व्यवस्थापन समितिले आठजना पुजारी र स्वयम्सेवकको परिचालन गरेको छ ।

सत्यवती मन्दिरमा जान पाल्पा बुटबल सडकको झुस्सा र चौवीसमाइल भन्ने स्थानबाट पैदल दुई घन्टा यात्रापछि पुग्न सकिने स्थानीय बासिन्दा ध्रुव पँगेनी बताउनुहुन्छ । मन्दिर जाने बाटोमा फूल, प्रसाद तथा परेवा बेच्नेको भीड लागेको छ । यहाँका स्थानीयवासीले बाटोमा फूल, प्रसाद तथा परेवा बेचेर लाखौँ आम्दानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।