त्रिशूली नुवाकोट, २८ कात्तिक । नुवाकोट दरबार क्षेत्रमा रहेको भैरवी मन्दिरको पुनःनिर्माण औपचारिक रुपमा शुभारम्भ भएको छ ।
विदुर नगरपालिका– ३ स्थित नुवाकोटको साततले दरबार क्षेत्रमा अवस्थित भैरवी मन्दिर पुनःनिर्माणको आज शिलान्यास गरिएको हो । मन्दिरमा पुजारी(धामी) हरिमानसिंह डङ्गोल र गुभाजु मुसमरत्न वज्राचार्यले विधिपूर्वक पूजाअर्चना भई मन्दिर निर्माणमा सहभागी डकर्मी जुजुभाइ नगरकोटीलाई ज्यावल हस्तान्तरण गरिएपछि पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले मन्दिरको शिलान्यास गर्नुभयो ।
शिलान्यासपछि महानिर्देशक दाहालले मन्दिर पहिलेकै ढाँचामा निर्माण गरिने बताउनुभयो । उहाँले केही स्थानीयवासीले दुवै तलाको छानामा सुनको जलप लगाइएको छाना राख्न माग गरे पनि पहिले पहिलो छानामा झिँगटी र सिरानमा मात्र सुनको मोलम्बा लगाइएको छाना भएकाले सोही अनुसारको बन्ने बताउनुभयो । “पहिले जेजस्तो थियो सोही रुपमा निर्माण गर्नु पुरातात्विक मान्यता भएका कारण थप केही हुन नसकेको हो” उहाँले भन्नु भयाे । मन्दिर निर्माणका लागि गुणस्तरीय काठ नेपाल टिम्बर कर्पोसनमार्फत उपलब्ध हुनेछ ।
महानिर्देशक दाहालले भैरवी मन्दिर निर्माणमा गुणस्तरमा कुनै पनि कमजोरी नहुने गरी निर्माणको रखवारी गरिदिन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
उहाँका अनुसार भैरवी मन्दिरअघि रहेको लाम्पाटीको निर्माणका लागि अर्को वर्ष बजेट विनियोजन हुने छ । चीन सरकारले हनुमान ढोका र साततले बनाउने भने पनि त्यसको प्रक्रिया ढिलो भइरहेको छ ।नुवाकोट तुलजा भवानीको मन्दिरमा रहेको पञ्चायतकालमा हराएको मूर्ति खोज्दा नभेटिएमा सोही प्रकारको मूर्ति निर्माण गरी विभागले पुनःस्थापना गराउने समेत महानिर्देशक दाहालले बताउनुभयो ।कार्यक्रममा प्रजिअ विष्णुप्रसाद पोखरेलले पुरातात्विक महत्वको मन्दिर निर्माणलाई भूकम्प प्रतिरोधी र पुरानैशैलीमा निर्माण भएबाट नुवाकोटको पर्यटकीय क्षेत्रको अझै विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
पुरातत्व विभागले मूअकबाहेक रु चार करोड ५९ लाख ७३ हजारको लागतमा मन्दिर पुनःनिर्माण गर्न लागेको हो । मन्दिरको पेरा/तुलसी/गलीभर वल्र्ड जेभीबाट निर्माण हुँदैछ । विसं २०७५ असार मसान्तभित्र काम सकिने गरी ठेक्का सम्झौता भएको विभागले जनाएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको मन्दिरमा नियमित पूजासमेत प्रभावित भएको छ । विसं १७८२ मा जगज्जय मल्लका पालामा मन्दिर स्थापना गरिएको तेलिया र काठको तोरणमा कुँदिएको शिलालेखबाट थाहा हुने संस्कृतिकर्मीको भनाइ छ । पुरातत्व विभागको प्रकाशनमा भने मन्दिर १७८३ सालमा जीर्णोद्वार गरी दुईतले बनाइएको उल्लेख छ ।
मन्दिर स्थापनापछि विभिन्न शासकले मन्दिरको रुपरङ फेर्ने र जीणोद्धा गर्ने काम हँुदै आएको छ । विसं १७९५ मा लक्ष्मीनरसिंह मल्लले मन्दिरमा रहेका तीन गजुरका ठाउँमा पाँच वटा बनाएका थिए भने १८४९ सालमा राजा रणबहादुर शाहले मन्दिरको माथिल्लो छानामा सुनको कवच भएको धातु हाल्न लगाएका थिए ।
कलात्मक बुट्टाले सिँगारिएको झल्लर र टुँडाल भएको मन्दिरमा भैरव–भैरवी, बाराही, अष्टमात्रिका, सिंहिनीदेवी, चामुण्डामाई, इन्द्रायणी, ब्रह्मायणी, महालक्ष्मी र व्याधिनीका मूर्ति थिए ।