काठमडौँ, २८ कार्तिक / गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ । यो भूकम्पपछि पुनर्निर्माण सम्पन्न मुलुककै पहिलो पुरातात्त्विक सम्पदा बनेको छ । अघिल्लो वैशाख १२ गतेको भूकम्पले युनेस्को विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ महाचैत्यको डोमदेखि त्रयोदश भुवन (तेह्रवटा खुडकिला) सम्मका भाग, मण्डला र छ्यार्तेनहरू पूर्ण रूपमा भत्काएको थियो । बौद्धनाथ क्षेत्र विकास समितिले सरकारी सहयोगबिनै २०७२ जेठ १० गते नै पुनर्निर्माण थालेको थियो । समितिका अनुसार विभिन्न दातृ संस्था र व्यक्तिबाट उठेको २३ करोड रुपैयाँ लागतमा महाचैत्यको पुनर्निर्माण सम्पन्न भएको हो।
आउँदो मंसिर ७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माणपछिको महाचैत्य उद्घाटन गर्दैछन् । बौद्ध परम्पराअनुसार देवातरण दिवस ९लभव दुइछेन० को अवसर पारी महाचैत्य उद्घाटन गर्न लागिएको समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जनाए । त्यसअघि मंसिर ३ र ४ गते ङिङमा, गेलुक, काग्यु, शाक्य, बज्रयान र थेरबादी गरी सबै बौद्ध सम्प्रदायका गुरुहरूको उपस्थितिमा शुद्धीकरण पूजा (डुस्याक) र ५ गते प्राण प्रतिष्ठा गरिने लामाले जनाए । ‘सरकारको मुख हेर्नुभन्दा आफ्नै बुतामा पनि गर्न सकिन्छ भन्ने यो उदाहरण हो,’ अध्यक्ष लामाले भने, ‘उद्घाटनकै दिन आय व्याय सार्वजनिक र दातालाई सम्मानसमेत गर्दैछौं ।’
पाँचांै शताब्दीमा निर्माण भएको मानिने यो विश्व सम्पदा पुनर्निर्माणका लागि ३० किलो सुन जनस्तरबाटै संकलन गरिएको थियो । पुरातत्त्व विभागका प्राविधिकहरूको प्रत्यक्ष निगरानीमा सम्पन्न पुनर्निर्माण पुरानै मौलिक शैलीबाट गरिएको छ । समितिका कार्यकारी निर्देशक फुबु याङजी लामाका अनुसार महाचैत्यको पुनर्निर्माणमा पुरानैपन झल्काउन सिमेन्टको सट्टा बज्र प्लास्टर प्रयोग गरिएको छ । यो सिमेन्ट जत्तिकै बलियो हुने परम्परागत प्रविधि हो । काँचो चुन, सुर्खी (इँटाको धूलो) र बालुवा प्रयोग गरी बज्र प्लास्टर निर्माण गरिन्छ । ‘पुरातत्त्व विभागको सिफारिसअनुसार यसो गरेका हौं,’ उनले भनिन् ।
अध्यक्ष लामाका अनुसार भूकम्पले भत्किँदा महाचैत्यको माथिल्लो भागमा १९ वटा तामाका बन्द बाकस भेटिएका थिए । ती सबै पुरातत्त्व विभागको रोहवरमा लाहछाप लगाई संरक्षणका लागि प्रहरीलाई जिम्मा लगाइएको थियो । पुनर्निर्माण क्रममा ती बाकसलाई पनि नखोलीकनै महाचैत्यभित्रै राखिएको लामाले जनाए । ‘३६ मिटर अग्लो महाचैत्यलाई चट्याङबाट जोगाउन पहिलोपटक अर्थिङसमेत गरिएको छ,’ उनले भने ।
बौद्धको पुरानो नाम झ्यारुङ खस्योर हो । बुद्धले निर्वाण प्राप्त गरेको केही समयपछि नै झ्याझिमा नामक एक महिलाले राजाको अनुमति लिई महाचैत्य निर्माण गरिएको बौद्ध मिथक छ । केही बौद्ध अनुयायी स्वयम्भूजस्तै यो महाचैत्य पनि आफैं उत्पत्ति भएको विश्वास गर्छन् । डानियल राइटद्वारा सम्पादित उन्नाइसौं शताब्दीको एक वंशावलीअनुसार भने यो महाचैत्य राजा मानदेव प्रथमले सन् ४६४-५०५ मा निर्माण गर्न लगाएका थिए। कान्तिपुर दैनिकबाट