0 COMMENTS

narayanकाठमाडौं२५,कार्तीक /कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।हिन्दु धर्मग्रन्थहरूका अनुसार कात्तिक शुक्ल पक्षको एकादशीका दिन भगवान् विष्णु निद्राबाट जाग्नुहुन्छ ।

साउन महिनामा योगनिद्रामा जानुहुने भगवान् विष्णु आजैका दिन जाग्नुहुने मान्यता छ । स्मार्तहरूले आज एकादशी मान्छन् भने वैष्णवहरूले भोलि एकादशी मान्छन् ।भगवान् विष्णु सँगसँगै देवी लक्ष्मीको आराधना गर्नुभयो भने धनलाभ हुन्छ ।बिहान उठेर नुहाइसकेपछि भगवान् विष्णुको प्रतिमामा केशरयुक्त दूधले स्नान गराउनुस् ।तुलसीको माला लिएर ऊँ नमो भगवते वासुदेवाय मन्त्र १०८ चोटि जप्नुस् । जप गर्दा पवित्रता कायम राख्ने कुरामा ध्यान दिनुस् ।

पीपलमा भगवान् विष्णुले वास गर्नुहुने मान्यता छ । आजको दिनमा पीपलमा पानी चढाउनुभयो भने ऋणबाट मुक्ति पाइन्छ ।एकादशीको दिनमा भगवान् विष्णुलाई पहेंलो फूल चढाउनुभयो भने उहाँ प्रसन्न हुनुहुन्छ ।आजको दिनमा श्रीमद्भागवत महापुराणका कथापाठ गर्दा भगवानलाई प्रसन्नता हुन्छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।