काठमाण्डाै१८,कार्तीक/ तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नवौं स्थापना दिवसका अवसरमा नेपालीहरु सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने चार मुलुक– कतार, मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएर्इ) बारे जानकारी दिने डिजिटल अडियो नोटिसबोर्ड सेवाको बिहीबार शुभारम्भ गरियो ।
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले फोन डायल गरेर सेवाको आरम्भ गरे । ०१–४१०५०५८ नं. मा डायल गरी फोन उठेपछि १ नं. डायल गरे कतार, २ नं. डायल गरे मलेसिया, ३ नं. डायल गरे युएर्इ र ४ नं. डायल गरे साउदीअरबबारे जानकारी पाउन सकिनेछ ।
देश रोजिसकेपछि सम्बन्धित देशको भाषा, तापक्रम, मुद्रा, उत्पादन, धर्म, कला, संस्कृति, दुर्घटनाबाट बच्ने उपाय, रोगबाट बच्ने उपायबारे जानकारी दिइन्छ । मन्त्री गुरुङले डिजिटल अडियो नोटिसबोर्ड सेवाका कारण विदेशिने युवाहरुले समग्र जानकारी पाउने विश्वास व्यक्त गरे ।
उनले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि आफूले सक्दो पहल गरिरहेको बताए । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले हाललाई चार देशको सूचना दिने व्यवस्था मिलाइएकामा क्रमशः अन्य देशको समेत थपिँदै लैजाने जानकारी दिए ।