0 COMMENTS

Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudelकाठमाडौं, १२ कार्तिक । अख्तियारमा बसेर ‘समानान्तर सत्ता’ चलाइरहेका लोकमानविरुद्ध कांग्रेसभित्र मत जुटाउन गगनलाई फलामको चिउरा चपाएसरह भएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा गगनसहित सातजना मात्रै लोकमानमाथिको महाभियोगको पक्षमा उभिए । अहिलेको अवस्थामा गगनले नै नेतृत्व गरिरहेको यो समूहमा ‘पब्लिक स्टन्ट’ गर्न मन पराउने नेताहरु पनि छन् ।

सिटौलानिकट अर्का नेता प्रदीप पौडेल पनि गगनसँगै लोकमानलाई महाभियोग लगाउने पक्षमा छन् । त्यसैगरी बद्री पाण्डे, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी र सुरेन्द्र पाण्डे महाभियोगको पक्षमा उभिएका केन्द्रीय सदस्य हुन् ।

लोकमानबारे अनिर्णित बनेको केन्द्रीय समितिमा बैठकमा बोल्ने ६० जना केन्द्रीय सदस्यमध्ये यी सातजन मात्रै महाभियोगको पक्षमा उभिएका थिए ।

अन्य ५३ जना नेताहरुले लोकमानलाई महाभियोग लगाउन नहुने तर उनलाई उचित विकल्प दिएर विदा गर्नुपर्ने धारणा राखेका थिए ।

लोकमानलाई महाभियोग लगाउन नहुने धारणा दोस्रो जनआन्दोनलका बेला गगन भन्दा पहिले गणतन्त्रको नारा लगाउने केन्द्रीय सदस्य गुरु घिमिरे पनि थिए । कांग्रेसका अन्य वरिष्ठ नेताहरु पनि लोकमानविरुद्ध बोल्ने पक्षमा छैनन् ।

सभापति शेरबहादुर देउवाले लोकमानको विरोध गरेपनि उनी कात्तिक १९ देखि हुने भारत भ्रमणअघि कुनै निर्णय गर्ने पक्षमा छैनन् । देउवाको मुड भारतबाट फर्केपछि लोकमानबारे निर्णय लिने छ ।

अर्कातिर वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लोकमानबारे हतारमा निर्णय लिनु गल्ती हुने बताइसकेका छन् । शेखर कोइराला, खुमबहादुर खड्का र अन्य वरिष्ठ नेताहरुको धारणा पनि पौडेलसँग मिल्दोजुल्दो छ ।

महाअभियाेगकाे पक्षमा पार्टी नउभिए गगनसहितले राजिनामा दिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमार थापाले राजीनामा दिने तयारी गरेका छन् ।

लोकमानसिंहले भ्रष्टहरुसँग मिलेर नेताहरुविरद्ध नियोजित षड्यन्त्र गरेको भन्दै संसद्मा महाभियोग दर्ता भएपछि कांग्रेसले त्यसबारे निर्णय लिन नसकेको अवस्थामा गगनले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको स्रोतको भनाई छ ।

लोकमानविरुद्ध महाभियोगको पक्षमा उभिएका थापासहितका कांग्रेस नेताहरुले पटक पटक सभापति शेरबहादुर देउवालाई भेटेर त्यसबारे तत्काल निर्णय लिन दबाब दिइरहेका बेला गगनले राजीनामा दिने निचोड निकालेका उनीनिकट एक कांग्रेस नेताले जानकारी दिए ।

महाअभियोगको पक्ष र विपक्षमा मत बाँडिएपछि विवाद चुलिइरहेका बेला महाभियोगको पक्षमा कांग्रेसले निर्णय नगरेमा राजीनामासम्म दिने सन्देश स्वास्थ्य मन्त्री थापाको तर्फबाट सभापति शेरबहादुर देउवालाई समेत पुर्‍याइएको दाबी स्रोतको छ ।

नेकपा एमाले र माओवादी केन्द्रका १५७ जना सांसदहरुले लोकमानलाई महाभियोग लगाउन संसदमा दर्ता गराएको प्रस्तावको पक्षमा केही दिनअघि कडा मन्तब्य राखेका गगनले पार्टीभित्रै भने महाभियोगको पक्षमा मत जुटाउन असफल भएका थिए ।

महाभियोगमाथिको पहिलो छलफल भएर संसद् २६ कात्तिकसम्मलाई स्थगित भएको अवस्थामा लोकमानलाई महाभियोगबाट जोगाउनका लागि कांग्रेसकै सांसद र नेताहरु लागि रहेका बेला गगनले मन्त्रीबाट र सांसदहरुले संसद सदस्यबाट पनि राजीनामा दिने धम्की सभापति देउवालाई दिइसकेका छन् ।

काठमाडौंमा भएको नेपाली कांग्रेसको तेह्रौ‌ं महाधिवेशनमा तत्कालीन महामन्त्री कृष्ण सिटौला छुट्टै प्यानल बनाएर सभापतिको चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

त्यो बेला उनका बलियो खम्बाकारुपमा महामन्त्रीमा उठेर गगनकुमार थापाले साथ दिएका थिए । यद्यपि दुबैजना पराजित हुन पुगेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील

कोइरालाको सहमतिमा अख्यितार प्रमुख बनेका लोकमानसिंह कार्कीले त्यसयता नियोजितरुपमा दलहरुमाथि आक्रमण थालेका थिए । त्यसअघि नै माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचारको केशमा प्रचण्ड तानिइसकेका थिए ।

करिब २१ अर्ब रुपैयाँ लडाकूका नाममा निकाशा भएकोमा करिब १० अर्ब रुपैयाँ प्रचण्ड, नन्दकिशोर पुन, कृष्णबहादुर महरा र जनर्दान शर्मासहितका लडाकुका कमाण्डरहरुको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन थालिसकेको थियो ।

यस्तोमा २०७२ असोजमा ६ जना नेताहरुलाई भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको भन्दै लोकमानले एकै पटक चिठ्ठी काटेपछि एमालेका नेताहरु पनि अख्तियारको हिरासतमा पुग्ने डरले त्रसित भइसकेका थिए । लोकमानले योजनावद्धरुपमा पार्टीका नेताहरुलाई तर्साउन थालेको अवस्थामा कांग्रेसमाथि मात्रै प्रहार गर्न बाँकी थियो ।

यसअघि नै खुमबहादुर खड्का र गोविन्दराज जोशीसहितका कांग्रेसका केही नेता भ्रष्टाचार अभियोगमा जेल पुगेको सन्दर्भमा अख्तियारको निशानाको पहिलो सूचीमा थिए, कृष्ण सिटौला ।ननस्टप खबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।