काठमाण्डाै ११,कार्तीक/इटालीमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । इटालीको मध्य क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । नेपाली समय अनुसार बुधबार राति १० बजेर ५५ मिनेट जाँदा ५ दशमलव ५ रेक्टर स्केलको पहिलो भूकम्प गएको हो ।
त्यसको दुई घण्टापछि ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको सरकारी अधिकारीले बताएका छन् । भूकम्पका कारण भवनहरु भत्किएका छन् भने नागरिक सडकमा आएका छन् । अहिलेसम्म एकजना घाइते भएको खबर आएको छ । तर मानवीय क्षति भएको खबर छैन । दुवै भूकम्प माचेराटा प्रान्तको भिस्सो केन्द्रविन्दु भएर गएको हो ।
इटालीमा दुई महिना अघि गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पका कारण दुई सय ९८ जनाको ज्यान गएको थियो । अगस्ट २४ मा गएको भूकम्पका कारण अमाट्रिचे शहरसहित अरु विभिन्न ऐतिहासिक गाउँमा बढी क्षति भएको थियो । अहिले भूकम्प गएको भिस्सो क्षेत्र अमाट्रिचेबाट ७० किलोमिटरको दूरीमा पर्छ ।
बुधबारको भूकम्पको धक्का राजधानी रोमसहित मध्य इटालीको सबै क्षेत्रमा महसुस भएको थियो । भूकम्पका कारण धेरै जसो पुराना घर भत्किएका छन् । उद्धार तथा राहतका लागि उद्धारकर्मी खटिएका छन् ।