काठमाडौं,७ कात्तिक / एक चौथाई सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध संसद सचिवालयमा दर्ता गराएको महाभियोगको प्रस्ताव आजको संसद बैठकमा प्रस्तुत हुने कार्यसूची तय भएको छ।
संसदले महाभियोग प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनुअघि केही समय लिन सक्ने भए पनि सिफारिस समितिले कार्य प्रारम्भ गरेको तीस दिनभित्र सदनमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । महाभियोग प्रस्तावमाथि संसदको पूर्ण बैठकमा सामान्य छलफल मात्रै हुन्छ भने महाभियोग सिफारिस समितिले विस्तृत अनुसन्धान तहकिकात गर्ने प्रावधान छ ।
कार्की्विरुद्धको महाभियोग प्रस्तुत गर्ने कार्यसूचीमा बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचनाद्वारा आइतबारसम्मका लागि स्थगित गरेकी थिइन् । प्रधानमन्त्री दाहालले कांग्रेससहितका दलहरुसँग छलफलका लागि समय माग गरे पनि यसबीचमा प्रमुख दलका नेताहरुबीच औपचारिक छलफल भएको छैन । सदनमा प्रस्ताव पेश भएपछि आइतबारै अर्को बैठक गरी छलफल थाल्ने वा दलीय छलफलका लागि थप समय पर्खने भन्ने यकिन नभएको संसद सचिवालयका अधिकारीहरुले जनाएका छन् ।
प्रधानमन्त्री दाहाल नेतृत्वको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १ सय ५७ सांसदहरुले अघि बढाएको महाभियोग प्रस्ताव पारित हुन संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थन अनिवार्य छ । संविधान र संसदको नियमावली अनुसार महाभियोग प्रस्ताव पारित हुन संसदको दुई तिहाई मत आवश्यक पर्छ । संसदमा कांग्रेसको सिट संख्या (२०७) एक तिहाईभन्दा बढी छ ।
प्रतिक्रिया दिनुहोस्