काठमाडौं०४, कार्तिक /पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा निषेधको राजनीति अघि बढेको बताउँदै त्यसले विद्रोह मच्चिएको बताएका छन् ।
गणतन्त्र नेपाल स्थापनापछि पहिलो पटक बिहीबार राजधानीको वनकालीस्थित विश्व हिन्दू विराट सम्मेलनमा बोल्दै पूर्वराजा शाहले जवसम्म निषेधको राजनीति अघि बढाइन्छ तवसम्म राष्ट्र असन्तुलन र विद्रोहको मार्गमा हिँड्ने बताएका छन् ।
पूर्वराजा शाहले देशमा बहुजन हिताय, बहुजन सुखायको मूल मन्त्र आत्मसाथ गर्दै अगाडि बढ्नुबाहेका अरु कुनै विकल्प नरहेको भन्दै देशमा बाह्य शक्तिको हस्तक्षेप बढेको आरोप लगाए । उनले राजनीतिक अस्थीरताका कारण देशमा बाह्य हस्तक्षेप बढेको र जनतामा चरम निराशा छाएको बताए ।
हजारौं वर्षदेखि नेपालीको मौलिक धर्म बनेको हिन्दुधर्मबाट नेपाललाई किन हटाइयो, र जटिल परिस्थिति किन सिर्जना भयो भन्ने बारेमा प्रश्न गर्ने बेला आएको पूर्वराजाको भनाई छ । ‘अहिलेको जटिल परिस्थिति किन र कसरी सिर्जना भयो, कारक के हुन भन्नेबारे जनताले प्रश्न गर्ने बेला आएको छ ।’ भारत र चीन जोड्ने सेतुका रुपमा रहेको हिन्दुधर्मलाई सम्मान गरेमा मात्र देशमा शान्ति स्थिरता रहने र स्वाभिमानको रक्षा हुने पूर्वराजाका दावी छ ।
विश्वमा कहिल्यै पराजित नभएको र कुनै बेला विश्व शान्ति सहिष्णुतको उपमा रहेको नेपाल अहिले कुन अवस्थामा रहेको छ ? भन्ने प्रश्न गर्दै उनले राज्यको समग्र परिस्थिति र राजनीतिक गतिविधिले बाह्य हस्तक्षेप बढेको धारणा व्यक्त गरेका छन् । आफ्नो मौलिक चिनारी, परम्परागत धर्म र राष्ट्रिय सम्वेदनशीलतालाई हृदंगम गरी अघि बढ्ने हो भने देशमा पुनः दिगो शान्ति स्थापना गर्न सकिने उनले बताए । साथै दिगो शान्ति र समृद्धिका लागि नयाँ सोंचको आवश्यकता उनले औंल्याए । भाषा, इतिहास, धर्म दर्शन देशका धरोहर, वैभव र प्राण रहेका औंल्याउँदै पूर्वराजा सनातन हिन्दुहरु जो जहाँ छन् त्यहाँ शान्ति र सदभाव हुने बताए ।