अभिनेत्री करिश्मा मान्नधर, सञ्चारकर्मी शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठ हरितारा चलचित्र पुरस्कारबाट सम्मानित हुने भएका छन् । हरितारा चलचित्र पुरस्कार निर्णायक समितिको सोमबारको बैठकले ०७१ सालको पुरस्कार करिश्मालाई र ०७२ को पुरस्कार शान्तिप्रिय र सुन्दरलाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार समितिका सदस्यसचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अढाइ दशकदेखि फिल्म अभिनयमा सक्रिय करिश्मालाई उनको योगदानको कदरस्वरूप पुरस्कृत गर्न लागिएको हो । त्यसैगरी चलचित्र पत्रकारिता र अवार्ड आयोजनाको क्षेत्रमा शान्तिप्रिय र डिजाइनिङको क्षेत्रमा सुन्दर श्रेष्ठले पु-याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
जनही २५ हजार रुपैयाँ नगदको पुरस्कार ०५२ मा समाजसेवी विजय राणाले स्थापना गरेका हुन् । यसपालिको पुरस्कार मंसिर दोस्रो साता राजधानीमा विशेष कार्यक्रम गरी प्रदान गरिनेछ । साथै सोही कार्यक्रममा यसै वर्ष स्थापना गरिएको नगद १० हजार राशिको श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार पनि प्रदान गरिनेछ ।
यसपालिको पुरस्कार विगत तीन दशकदेखि अभिनयमा निरन्तर रहेका अभिनेता, निर्देशक सुभाष गजुरेललाई प्रदान गरिने आयोजक परिवर्तन नेपालले जनाएको छ ।