बेनी (म्याग्दी), १ कात्तिक । हिन्दूहरुको धार्मिक आस्थाका रुपमा रहेको रुद्राक्षले अलौकिक शक्ति प्रदान गर्नुका साथै आयुर्वेदिक औषधिमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने थाहा पाएपछि यसको माग बढ्दै जान थालेको छ । धार्मिक अवसरमा रुद्राक्षको माला धारण गर्ने, जपतप आदि गर्दा पनि रुद्राक्षको धारण गर्ने प्रचलन रहेको छ तर, औषधिका रुपमा पनि यसको प्रयोग हुन्छ भन्ने विषयमा अधिकांश मानिस अनभिज्ञ छन् । रुद्राक्ष धारण गरे विभिन्न प्रकारका रोगबाट मुक्ति पाउन सकिने भएकाले यसलाई आयुर्वेदमा दिव्य औषधि समेत भन्ने गरिएको हो । रुद्राक्ष अलौकिक गुणले सम्पन्न भएकाले वनस्पतिको ‘मणि’ भनेर यसको उपयोगिता बहुमूल्य रत्न, हीरा, पन्ना र मोतिभन्दा कम महत्व नरहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । वनस्पति शास्त्रमा रुद्राक्षको बोट उभ्रासन एलियोकार्पसी वंशअन्तर्गत पर्ने जिल्ला वन कार्यालय म्याग्दीका रेन्जर चन्द्रमणि सापकोटाले बताए । महादेवको अर्को नाम रुद्र पनि हो । भगवान् महादेवको अश्रु पृथ्वीमा खसेपछि जुन बोटको उत्पत्ति भयो त्यसको नामाकरण रुद्राक्ष गरिएको धार्मिक ग्रन्थ देवी पुराणमा उल्लेख गरिएको छ । रङ्गभेदको आधारमा रुद्राक्ष चारजातिको हुने गरेको धार्मिक ग्रन्थ विद्येश्वर संहितामा उल्लेख गरिएको छ । उक्त संहिताका अनुसार रुद्राक्ष सेतो, रातो, पहेँलो कालो गरी चार रङका हुन्छन् ।
देवी भागवत पुराणमा ३८ प्रकारका रुद्राक्षका बारेमा वर्णन गरिएको रुद्राक्ष र शालिग्रामका अध्येता पण्डित रंगराज शास्त्रीले जानकारी दिए । अधिकांश बोटमा पाँचमुखे फल्छन् भने अन्य प्रकारका रुद्राक्ष नगण्य रुपमा फल्ने गरेको बताइन्छ । वर्षायाममा फल लाग्न सुरु भएपछि कात्तिक महिनामा यो पाक्छ । फलको भित्री भागलाई रुद्राक्ष भनिन्छ । नेपालमा उच्चकोटीको रुद्राक्ष उत्पादन हुने गरेको माहात्म्य नामक पुस्तकमा उल्लेख गरिएको छ । धार्मिक पुस्तकमा रुद्राक्षको बोटलाई पञ्चाङ्गका रुपमा वर्णन गरिएको छ । जसअनुरुप मूल, पुष्प, फल, शाखा र पात यी सबैको धार्मिक कृत्य तान्त्रिक अनुष्ठान र रोग उपचारमा प्रयोग गरिन्छ । रुद्राक्षको धारण गर्नाले नै कतिपय रोग निको हुने आयुर्वेदका चिकित्सकले बताएका छन् । महिलाले छ मुखे रुद्राक्ष धारण गरेमा हिस्टोरिया, मुर्छा पर्ने निको हुने चिकित्सकले बताएका छन् ।